काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दैलेखको प्रथम जिल्ला अधिवेशन मत गणनालाई लिएर विवादित बनेको छ। अधिवेशनपछि सभापतिमा बखतबहादुर भण्डारी निर्वाचित भएको घोषणा गरिए पनि खसेको मतभन्दा बढी मत देखिएको भन्दै असन्तुष्टि चुलिएको हो।
निर्वाचनमा सभापति पदका लागि चार जना आकाङ्क्षी प्रतिस्पर्धामा थिए। सर्वसम्मत बनाउन सहमति नजुटेपछि आइतबार साँझ मतदान गरिएको थियो। प्रारम्भिक विवरणअनुसार कुल २४० मत खसेको भनिएको थियो।
तर मतगणनाको परिणाममा उम्मेदवारहरूको प्राप्त मत जोड्दा २४६ देखिएको छ, जुन खसेको मतभन्दा ६ बढी हो।
परिणामअनुसार बखतबहादुर भण्डारीले ९३ मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका थिए। अन्य उम्मेदवारहरूमा प्रकाश बुढाले ६९, विनी बहादुर शाहीले ४३ र मित्रराज प्याकुरेलले ४१ मत प्राप्त गरेका थिए।
मत संख्यामा असंगति देखिएपछि निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै असन्तुष्ट पक्षले रास्वपा दैलेख कार्यालयमा तालाबन्दी गरेको छ।

