काठमाडौँ । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाई सर्वसाधारणबाट ३० लाख रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा चार जना पक्राउ परेका छन्।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सिन्धुपाल्चोकका २९ वर्षीय सुमन शाही, रामेछापका ४७ वर्षीय वेदबहादुर सुनुवार, झापाका ४५ वर्षीय अनिल अग्रवाल र तनहुँका ३७ वर्षीय विवेक अधिकारीलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूले क्रोएशिया, स्वीटजरल्यान्ड, अष्ट्रिया र फ्रान्स पठाइदिने भन्दै सर्वसाधारणबाट ठूलो रकम असुलेका थिए।
अनुसन्धानका क्रममा उनीहरूले ३० लाख रुपैयाँभन्दा बढी ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जानकारी दिएको छ।

