काठमाण्डौ । वरिष्ठ लेखक अपत्य शर्माद्वारा लिखित कृति ‘मानव दासता र मुक्ति संघर्ष’ माथि एक विशेष छलफल कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा साहित्यकार, लेखक, समीक्षक, बुद्धिजीवी तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वरिष्ठ लेखक तथा प्रसिद्ध आख्यानकार इश्माली (महेश्वर प्रसाद उपाध्याय) ले कृतिमाथि समीक्षात्मक टिप्पणी प्रस्तुत गर्दै लेखक शर्माले लामो अध्ययन, अनुसन्धान र मेहनतपछि पुस्तक तयार पारेको बताउनुभयो। उहाँले मानव समाजको विकासक्रम, शोषण, असमानता र मुक्ति संघर्षका विविध पक्षलाई पुस्तकले समेटेको उल्लेख गर्दै वर्तमान सन्दर्भमा यो कृति नयाँ पुस्ताका लागि समेत उपयोगी हुने धारणा राख्नुभयो।
त्यसैगरी बाल साहित्यकार डा. छायाँदत्त न्यौपाने ले पुस्तकबारे चर्चा गर्दै यसले समाज परिवर्तनका पक्षधर, वाम विचारधारा बोक्ने युवा तथा अध्ययनशील पाठकहरूलाई महत्वपूर्ण सन्देश दिने बताउनुभयो। उहाँले इतिहास र वर्तमानबीचको सम्बन्ध बुझ्न यस्ता कृतिहरूले सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा पुस्तकका लेखक अपत्य शर्माले आफ्नो कृति प्रकाशन गर्नुको उद्देश्यबारे प्रकाश पार्दै मानव समाजमा विद्यमान दासता, विभेद र मुक्ति आन्दोलनका अनुभवलाई दस्तावेजका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको बताउनुभयो। उहाँले पुस्तकप्रति प्राप्त प्रतिक्रिया र सुझावका लागि सहभागी सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो।
छलफल कार्यक्रममा श्रृङ्खला प्रकाशनका प्रकाशक प्रवीण जोशी, वाम विश्लेषक हरि श्रेष्ठ तथा सञ्चारकर्मी इश्वरी थापा ले पनि मन्तव्य राख्नुभएको थियो। वक्ताहरूले पुस्तकले सामाजिक, राजनीतिक र ऐतिहासिक विषयमाथि बहस सिर्जना गर्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमले साहित्य र विचारको क्षेत्रमा महत्वपूर्ण बहसको वातावरण सिर्जना गरेको आयोजक पक्षले जनाएको छ।

