काठमाडौँ । होर्मुज जलमार्गमा अमेरिकी सेना र इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) को नौसैनिक इकाइबीच तीव्र भिडन्त तथा गोलीबारी भएको छ।
इरानको सरकारी समाचार संस्था मेहर न्यूज एजेन्सीका अनुसार उक्त क्षेत्रमा भिडन्त जारी रहेको छ। घटनापछि इरानको उच्च संयुक्त सैन्य कमाण्डले होर्मुज जलडमरू हुँदै हुने सबै प्रकारका जहाजहरूको आवागमन बन्द गर्ने आदेश जारी गरेको जनाएको छ। यसअघि पनि इरानले जलमार्गमा प्रतिबन्ध र नियन्त्रणसम्बन्धी कदमहरू चाल्दै आएको थियो।
यसैबीच अमेरिकी सेनाले इरानका कम्तीमा सात तटीय क्षेत्रलाई निशाना बनाएर आक्रमण गरेको दाबी गरिएको छ। आक्रमण भएका स्थानहरूमा बन्दर अब्बास, सिरिक, केश्म (क्वेश्म) द्वीप, हेन्गाम द्वीप, मिनाव र गोर्गानलगायत क्षेत्र रहेका बताइएको छ।
आक्रमणपछि इरानले आफ्नो हवाई प्रतिरक्षा प्रणाली सक्रिय गरिएको जनाएको छ। आईआरजीसीका अनुसार खाडी क्षेत्रको हवाई क्षेत्रमा प्रवेश गरेको एउटा एफ–३५ लडाकु विमानतर्फ मिसाइल प्रहार गरिएको थियो। मिसाइल आक्रमणपछि उक्त विमान पछि हटेको दाबी पनि इरानले गरेको छ। यद्यपि यस दाबीको स्वतन्त्र पुष्टि हुन सकेको छैन।
अमेरिकी सेनाको मध्य कमाण्ड (CENTCOM) ले इरानविरुद्ध गरिएको सैन्य कारबाहीको पुष्टि गरेको छ। कमाण्डका अनुसार इरानका हालैका गतिविधिपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा आक्रमण गरिएको हो। अमेरिकाले यसलाई ‘आत्मरक्षा तथा अनुपातिक प्रतिक्रिया’ को रूपमा व्याख्या गरेको छ।
यस घटनाले मध्यपूर्वमा तनाव थप चुलिएको छ भने विश्व ऊर्जा आपूर्ति र अन्तर्राष्ट्रिय समुद्री व्यापारमा समेत गम्भीर प्रभाव पर्ने चिन्ता बढेको छ।



