काठमाण्डौ । बुटवलस्थित एक सुनचाँदी पसलबाट करिब डेढ करोड रुपैयाँ बराबरका गरगहना चोरी भएको उजुरी दिने पसल सञ्चालक र उनका कामदार पक्राउ परेका छन्। झुटो उजुरी दिएको अभियोगमा उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका–४ अमरपथस्थित तिनाउ सुनचाँदी पसलका सञ्चालक ४१ वर्षीय दिपक विक र सोही पसलका ४७ वर्षीय कामदार नवीन विक रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले जेठ १७ गते बिहान १२ः१० बजे पसलको सटरको ताला फोडेर सेफभित्र राखिएका एक करोड ४६ लाख ९४ हजार ७ सय रुपैयाँ बराबरका सुनचाँदीका गरगहना चोरी भएको भन्दै उजुरी दिएका थिए।
तर घटनाको अनुसन्धानका क्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय लुम्बिनी, जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा इलाका प्रहरी कार्यालय बुटवलको संयुक्त टोलीले उक्त चोरी वास्तविक नभई योजनाबद्ध रूपमा रचिएको नाटक भएको निष्कर्ष निकालेको छ।
प्रहरीले अनुसन्धानका क्रममा उजुरीकर्ताकै संलग्नतामा चोरीको झुटो कथा बनाइएको प्रमाण फेला परेपछि पसल सञ्चालक दिपक विक र कामदार नवीन विकलाई पक्राउ गरेको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

