काठमाण्डौ । उपत्यका विकास प्राधिकरणअन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना, गौरीघाटमा करारमा कार्यरत अमिन दिनेशप्रसाद यादव भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले शुक्रबार यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय समेत तोकेको हो।
यादवलाई एक वर्ष कैद र झण्डै सवा करोड जरिवानाको फैसला सुनाइएको छ।
उनले आफ्नो वैधानिक आम्दानीभन्दा एक करोड १२ लाख ७० हजार ६६८ रुपैयाँ बढी गैरकानुनी रुपमा आर्जन गरेको विशेष अदालतको ठहर छ। उनलाई सोही रकम बराबर जरीवाना तिराउने फैसला विशेषको छ। चार लाख ५० हजार ८२६ रुपैयाँ जरिवाना तिराउने पनि फैसला भएको छ।
एक करोड १२ लाख ७० हजार ६६८ रुपैयाँ बराबरको जग्गा जफत गर्ने पनि अदालतको फैसलामा छ।
२०६३ भदौ ८ गतेदेखि २०८१ साल असार मसान्तसम्मको अवधिमा यादवले दुई करोड ४२ लाख २० हजार ३०१ रुपैयाँ ३० पैसा आम्दानी गरे पनि खर्च भने पाँच करोड ७१ लाख ६६ हजार तीन रुपैयाँ ५१ पैसा रहेको अख्तियारको दाबी थियो।
अख्तियारले दाबी गरेभन्दा कम अवैध सम्पत्ति रहेको अदालतले ठहर गर्दै फैसला गरेको हो। अब यादवले यो फैसलामा चित्त नबुझे तोकिएको अवधिभित्रै सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन्।

