काठमाडौँ । केही दिनदेखि गर्मी बढेपछि धनगढी उपमहानगरपालिकाले सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
सोमबार उपमहानगरका शिक्षा अधिकृत जयराज जैशीले सूचना प्रकाशित गरी अत्यधिक गर्मीका कारण चार दिन विद्यालय बन्द गरिएको जनाएका छन्। केही दिनदेखि धनगढीलगायत आसपासको क्षेत्रमा तापक्रम ४० डिग्री सेल्सियसको आसपास पुगेको छ।
गर्मीका कारण असार ९ देखि १२ गतेसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिइएको उपमहानगरले जनाएको छ। अत्यधिक गर्मीका कारण विद्यार्थीमा समस्या देखिएपछि विद्यालय बन्द गर्नु परेको जनाईएको छ ।
उपमहानगरले भनेको छ, ‘बढ्दो अत्यधिक गर्मीका कारण विद्यार्थीमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने सम्भावना रहेकोले प्रतिकुल अवस्थालाई मध्यनजर गर्दै पछि वर्षे र हिउँदे बिदाबाट बिदा मिलान हुने गरी यस उपमहानगरपालिकाका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा मिति २०८३ असार ९ गतेदेखि १२ गतेसम्म चार दिन अध्ययन अध्यापन कार्य नगरी बिदाको व्यवस्था मिलाउनु हुन जानकारीका लागि सादर अनुरोध छ।’
यससँगै ‘लू’बाट बच्न पनि सचेत गराइएको छ। केही दिनदेखि धनगढीलगायतका क्षेत्रमा लू चलिरहेको छ। 

