काठमाडौँ । रेबिजको संक्रमणबाट चन्द्रागिरि नगरपालिकाका एक जनाको मृत्यु भएको छ।
रेबिज संक्रमणपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना भएका ४८ वर्षीय पुरूषको उपचारका क्रममा शनिबार मृत्यु भएको हो।
अस्पतालका मेडिकल रेकर्डर समीर अधिकारीका अनुसार असार ५ गते भर्ना भएका उनको भोलिपल्ट मृत्यु भएको हो। ती पुरुषले रेबिजविरुद्धको खोप (एआरभी) नलगाएको उनले बताए। लक्षण देखिएपछि रेबिजको मृत्युदर शतप्रतिशत हुने अधिकारी बताउँछन्।
चिकित्सका अनुसार रेबिज भाइरसले घाँटी र सास फेर्ने नलीका मांसपेशीहरू एकदमै कडा हुन्छन् र खुम्चिन्छन्। केही निल्न खोज्दा वा पानी देख्दा मात्रै पनि घाँटीमा असह्य पीडा हुने भएकाले बिरामी पानीदेखि एकदमै डराउँछन्।
रेबिज संक्रमण भएपछि शरीरका विभिन्न अंगहरूले काम गर्न छाड्छन्। त्यसपछि मृत्यु हुने चिकित्सक बताएका छन्।

