काठमाडौँ । सडकपेटीमा आश्रित दृष्टिविहीनमाथि बलपूर्वक हटाएको तथा जबर्जस्ती धरपक्कड गरेको भन्दै उनीहरूले विरोध गरेका छन्। दृष्टिविहीनहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन्।
सरकारले सडकपेटीमा समेत गरिखान नदिएको भन्दै प्रदर्शनमा उत्रिएका दृष्टिविहीनले आन्दोलन सुरु गरेको जनाए । सरकारले सडकपेटी, मठमन्दिर, चोकलगायतका क्षेत्रमा बसेर गरिखान समेत नदिने, उल्टै नगर प्रहरीले धरपक्कड गर्ने, जबर्जस्ती हटाउने गरेपछि आन्दोलनमा उत्रिन बाध्य भएको सडकपेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायी समूहका संयोजक सुदीप ओलीले बताए।
‘आज बालेन सरकारले हामीलाई बाँच्न दिएन। गाँस, बास, कपासको ग्यारेन्टी गरिदिएन,’ उनले भने, ‘हामीले धुप बेच्थ्यौँ। कतिले सडक, चोक, मठमन्दिर पेटीमा वेट मेशिनहरू राख्थ्यौँ । कतिले गीत गाएर सहयोग उठाएर खाने काम गरिराखेका थियौँ। तर बालेन सरकारले हामीलाई त्यो गर्न दिएन।’
सरकारले आफूहरूलाई विकल्पविना सडकमा समेत गरिखान नदिएको उनको गुनासो छ। ‘नगर प्रहरी आएर दमन गर्ने, होल्डिङ सेन्टरमा लगेर दिनभर थुन्ने, साँझ परेपछि छोडिदिने। नगर प्रहरीले हातपात पनि गरेका छन् । त्यसैको विरोधमा प्रदर्शन गर्नुपरेको हो,’ उनले भने।
उनीहरूले बाँच्नका लागि मासिक २० हजारका दरले भत्ताको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्। ‘अब राज्यले हामीलाई कि त गरिखान दिनुपर्यो कि महिनाको २० हजार बेरोजगार भत्ता दिनुपर्यो। कि त योग्यता र क्षमताको हिसाबमा काम दिनु पर्यो,’ उनले भने, ‘यो आन्दोलन हाम्रो गाँस, बासको लागि आन्दोलन हो।’
सरकारले बाँच्नका लागि बैकल्पिक व्यवस्था नगरेसम्म दैनिक बिहान ९ बजे १२ बजेसम्म प्रदर्शन गरिरहने उनीहरूले जनाएका छन्।

