काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गत नापी विभागले जग्गासम्बन्धी सेवा प्रवाहलाई डिजिटल माध्यमबाट सहज बनाउने उद्देश्यसहित ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ।
सामान्य प्रशासनमन्त्री प्रतिभा रावलको उपस्थितिमा बिहिबार आयोजित कार्यक्रममा एप सार्वजनिक गरिएको हो। विभागका अनुसार एप एन्ड्रोइड र आइओएस दुवै प्लेटफर्ममा उपलब्ध छ र सेवाग्राहीले प्ले स्टोर तथा एप स्टोरबाट डाउनलोड गर्न सक्नेछन्।
‘मेरोकित्ता’ एपमार्फत नागरिकले नक्सा प्रिन्ट, फिल्डबुक उतार, प्लट रजिस्टर उतार तथा फिल्ड रेखाङ्कनसम्बन्धी सेवाका लागि अनलाइन आवेदन दिन सक्नेछन्। आवेदन दर्तापछि प्राप्त हुने ओटिपीको माध्यमबाट सेवाग्राहीले आफ्नो निवेदनको अवस्था नियमित रूपमा अनुगमन गर्न सक्ने व्यवस्था गरिएको छ।
एपमा ई–सेवा, खल्ती र कनेक्ट आइपिएसमार्फत राजस्व भुक्तानी गर्ने सुविधा पनि समावेश गरिएको छ। विशेषगरी फिल्ड रेखाङ्कन सेवाका लागि आवश्यक शुल्क अनलाइनमार्फत नै बुझाउन सकिने विभागले जनाएको छ।
यसका साथै, सम्बन्धित नापी कार्यालयका कार्यालय प्रमुख तथा सूचना अधिकारीहरूको सम्पर्क विवरणसमेत एपबाट प्राप्त गर्न सकिनेछ। विभागले ‘मेरोकित्ता’ सेवा मोबाइल एपसँगै वेब संस्करणमा पनि उपलब्ध रहेको जानकारी दिएको छ।
कार्यक्रममा बोल्दै मन्त्री प्रतिभा रावलले सूचना प्रविधिको प्रयोगमार्फत सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार गर्नु सरकारको प्राथमिकता रहेको बताइन्। उनले जग्गासम्बन्धी सेवा लिन कार्यालय धाउनुपर्ने बाध्यता क्रमशः अन्त्य हुँदै गएको उल्लेख गर्दै ‘मेरोकित्ता’ एपले सेवा प्रवाहलाई थप सहज, छरितो, पारदर्शी र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन्।
उनले डिजिटल सुशासनलाई सुदृढ बनाउन यस्ता प्रविधिमैत्री सेवाको दायरा आगामी दिनमा अझ विस्तार गर्दै लैजाने प्रतिबद्धता पनि व्यक्त गरिन्।

