काठमाडौं । टिकटकमार्फत चर्चामा रहेकी तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत ललितपुरले आदेश दिएको छ।
जिल्ला अदालत ललितपुरका न्यायाधीश टेकनाथ गौतमको इजलासले आज बिहीबार अधिकारीलाई थुनामा राखेर मुद्दाको थप सुनुवाइ अघि बढाउन आदेश दिएको हो।
टिकटक स्टार अधिकारीबिरुद्ध एक व्यवसायीलाई ‘हनिट्रयाप’मा पारेर करोडौँ रुपैयाँ असुलेको आरोपमा आपराधिक लाभ, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको छ।
नेपाल प्रहरीले उनलाई अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको हो ।
नवलपरासी पश्चिम स्थायी घर भई हाल ललितपुरको भैँसेपाटीमा बसोबास गर्दै आएकी अधिकारीविरुद्ध गत चैतमै तीनवटै कसुरमा मुद्दा दर्ता भएको थियो।
अभियोगपत्रअनुसार अधिकारीले एक व्यवसायीबाट ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ लिएको आरोप छ। अनुसन्धानका क्रममा उनको आर्थिक कारोबार अस्वाभाविक देखिएको भन्दै सम्पत्ति शुद्धीकरणतर्फ २१ करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी मुद्दा चलाइएको छ।
प्रहरीले अधिकारीविरुद्ध २०८२ चैत ३ गते इन्टरपोलमार्फत रेड नोटिस जारी गराएको थियो। पीडित व्यवसायीले प्रहरी वृत्त सातदोबाटोमा जाहेरी दिएका थिए।
यस प्रकरणमा तुलसा अधिकारीसहित नौ जना व्यक्ति र ‘तुलसा कलेक्सन’ नामक व्यवसायलाई समेत प्रतिवादी बनाइएको छ।
मुद्दाका अन्य प्रतिवादीमा भारतका मुकेशकुमार धानुका, पोखराकी नेलिका लामिछाने, तेह्रथुमकी दिलुकुमारी लिम्बू, पाल्पाका प्रयास पोखरेल, सल्यानकी सपना वली, नवलपरासीकी गंगा अधिकारी सुवेदी, पाल्पाका मेघनाथ बस्याल तथा सिरहाका अशोककुमार अग्रवाल रहेका छन्।
उनीहरूले तुलसा अधिकारीको निर्देशनअनुसार सम्बन्धित व्यवसायीबाट रकम बुझेको आरोप लगाइएको छ।

