काठमाडौँ । घुस लिएको आरोपमा पक्राउ परेका भक्तपुर मालपोत कार्यालयका तत्कालीन प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउत भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।
विशेष अदालतले फैसला सुनाउँदै दुवै जनालाई दोषी ठहर गरेको हो। उनीहरूले चाँगुनारायणस्थित १४ रोपनी ४ आना जग्गाको मोही लगत कट्टाका लागि सेवाग्राहीसँग २४ लाख ५० हजार रुपैयाँ घुस मागेको आरोप थियो।
घटनापछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरूलाई रंगेहात पक्राउ गरेको थियो। आयोगले २०८२ साउन २८ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको संयुक्त इजलासले उनीहरूलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि अर्को दिन पेश गर्न आदेश दिएको छ।
यही मुद्दामा अदालतमा प्रतिकूल बकपत्र गरेको आरोपमा अभियोग खेपिरहेका तेजबहादुर तामाङ र सानुकान्छा तामाङलाई भने विशेष अदालतले सफाइ दिएको छ।

