काठमाण्डौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुखसमक्ष सिफारिस गर्दै उनले मन्त्रिपरिषद्लाई नयाँ स्वरूप दिएका हुन्।
पुनर्गठित मन्त्रिपरिषद्मा पाँच जना नयाँ मन्त्री समावेश भएका छन्। तीमध्ये चार जना नेकपा (एमाले)बाट तथा एक जना जनता समाजवादी पार्टी (जसपा)बाट मन्त्री नियुक्त भएका हुन्।
एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यसैगरी रामजीप्रसाद घिमिरे स्वास्थ्य मन्त्री, रत्नबहादुर खत्री भौतिक पूर्वाधार विकास मन्त्री तथा डिल्लीराज भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त भएका छन्।
यस्तै जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। यसअघि उक्त मन्त्रालयको नेतृत्व आदेशकुमार अग्रवालले गर्दै आएका थिए।
प्रदेश सरकारका अनुसार मन्त्रिपरिषद् पुनर्गठनको उद्देश्य सरकारलाई थप प्रभावकारी, गतिशील र कार्यसम्पादनमुखी बनाउनु हो।
नवनियुक्त मन्त्रीहरूको शपथग्रहण आगामी जेठ २५ गते सोमबार हुने तय गरिएको छ। शपथपछि उनीहरूले सम्बन्धित मन्त्रालयको औपचारिक जिम्मेवारी सम्हाल्नेछन्।

