काठमाण्डौ । झापाको दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारी हत्या प्रकरणमा संलग्न रहेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्। घटना भएको करिब १० दिनपछि प्रहरीले अनुसन्धानलाई निष्कर्षतर्फ पुर्याउँदै मुख्य आरोपितलाई नियन्त्रणमा लिएको हो।
प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार पक्राउ परेका भारतीय नागरिक दमक तथा आसपासका क्षेत्रमा टायल्स र मार्बल जडानसम्बन्धी ठेक्कापट्टाको काम गर्दै आएका थिए। अनुसन्धानका क्रममा मृतक तिवारी र आरोपितबीच घटनाअघि नै चिनजान रहेको तथ्य खुलेको प्रहरीले जनाएको छ।
घटनाको कारण, हत्या कसरी गरिएको थियो भन्ने विषय तथा अन्य अनुसन्धानसम्बन्धी विवरण प्रहरीले औपचारिक रूपमा सार्वजनिक गरिसकेको छैन। स्रोतका अनुसार प्रहरीले घटनासँग सम्बन्धित प्रमाणहरू संकलन गरी अनुसन्धान टुंग्याएको छ र छिट्टै पत्रकार सम्मेलनमार्फत विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको छ।
उक्त घटनाले स्थानीय क्षेत्रमा चासो र त्रास दुवै बढाएको छ भने पीडित परिवारले दोषीमाथि कडा कानुनी कारबाहीको माग गरेका छन्। प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ।

