काठमाडौं । केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा रहेका एक कैदीलाई कारागारबाट बाहिर निकालेर होटलमा लगी खानपिन गराउनुका साथै एक युवतीसँग भेट गराएको घटनामा संलग्न दुई प्रहरी कर्मचारी बर्खास्त भएका छन्।
जेठ १ गते कारागारमा रहेका अनुप भण्डारीलाई हतकडीबिनै बाहिर निकालेर होटल पुर्याइएको घटनाको छानबिनपछि प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकलाई सेवाबाट हटाइएको हो।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी ओम अधिकारी ले घटनाबारे अनुसन्धानपछि दुवै प्रहरीलाई बर्खास्त गरिएको जानकारी दिएका छन्। उनका अनुसार आवश्यक छानबिनपछि दुवै जनामाथि विभागीय कारबाही गरिएको हो।
प्रहरी स्रोतका अनुसार कुँवर र विकले अनुप भण्डारीलाई अस्पताल लैजानुपर्ने भन्दै कारागारबाट बाहिर निकालेका थिए। तर अनुसन्धानका क्रममा उनीहरूले कैदीलाई होटलमा लगेर मासु, बियर लगायतका खानपिन गराउनुका साथै एक युवतीसँग भेट गराएको तथ्य खुलेको छ।
स्रोतका अनुसार कैदीलाई कारागारबाहिर विशेष सुविधा उपलब्ध गराइएको र त्यसक्रममा सुरक्षा मापदण्डसमेत उल्लंघन भएको भेटिएपछि सम्बन्धित प्रहरी कर्मचारीमाथि कडा कारबाही गरिएको हो। घटनासम्बन्धी अन्य पक्षबारे पनि अनुसन्धान जारी रहेको जनाइएको छ।

