सन्दर्भः विश्व वातावरण दिवस सन् २०२६
वातावरण नै पृथ्वी रक्षाको सामूहिक संकल्प
–विश्वनाथ खरेल
हामी बाँचिरहेको पृथ्वी ब्रह्माण्डकै एउटा अनौठो र अद्वितीय ग्रह हो । जहाँ जीवन सम्भव छ । हावा, पानी, माटो, वनस्पति र जीवजन्तुबीचको सुन्दर सन्तुलनले यहाँ जीवनको चक्र चलिरहेको छ । यो सन्तुलनलाई हामी वातावरण भन्दछौँ । तर, आधुनिकता, औद्योगिकीकरण र मानवकेन्द्रित विकासको अन्धधुन्ध दौडका कारण आज यो वातावरण गम्भीर संकटमा परेको छ । पृथ्वी हाम्रा लागि मात्र नभएर, भावी पुस्ता र करोडौँ अन्य जीवका लागि पनि साझा घर पनि हो । त्यसैले, वातावरण नै पृथ्वी रक्षाको सामूहिक संकल्प हुनु आजको युगको सबैभन्दा ठूलो र अनिवार्य आवश्यकता बनेको छ । जुन संकल्पको अर्थ केवल इच्छा व्यक्त गर्नु मात्र नभएर, बल्कि कुनै निश्चित लक्ष्य प्राप्तिका लागि दृढ भएर लाग्नु हो । पृथ्वीको रक्षा तब मात्र सम्भव छ, जब विश्वका सम्पूर्ण नागरिक, सरकार, उद्योग र समुदायहरू एकजुट भएर वातावरण संरक्षणलाई आफ्नो पहिलो प्राथमिकता बनाउँछन् ।
मानव सभ्यताको विकाससँगै पृथ्वीमा अनेकौं परिवर्तनहरू भएका छन् । विज्ञान, प्रविधि, औद्योगिकीकरण तथा शहरीकरणले मानव जीवनलाई सहज र सुविधासम्पन्न बनाएको छ । तर विकासको यही दौडले वातावरणमा गम्भीर असर पनि पारेको छ । वन विनाश, वायु प्रदूषण, जल प्रदूषण, माटोको क्षयीकरण, जैविक विविधताको ह्रास र जलवायु परिवर्तनजस्ता समस्याले आज सम्पूर्ण विश्वलाई चिन्तित बनाएको छ । वातावरण र पृथ्वी एकअर्काका परिपूरक हुन् । वातावरण स्वस्थ रह्यो भने मात्र पृथ्वीमा जीवन सुरक्षित रहन्छ । त्यसैले आज वातावरण नै पृथ्वी रक्षाको सामूहिक संकल्प बन्नु आवश्यक भएको छ । पृथ्वी मानव जातिको मात्र होइन, सम्पूर्ण जीवजन्तु, वनस्पति तथा प्राकृतिक स्रोतहरूको साझा घर हो । यसलाई सुरक्षित राख्ने जिम्मेवारी पनि सबैको साझा दायित्व हो । कुनै एक देश, समुदाय वा व्यक्तिले मात्र वातावरण संरक्षण गर्न सक्दैन । पृथ्वी बचाउने अभियान विश्वव्यापी सहभागिता, प्रतिबद्धता र सहकार्यबाट मात्र सफल हुन सक्छ ।
वातावरण भन्नाले पृथ्वी वरिपरि रहेको प्राकृतिक परिवेशलाई बुझिन्छ । जसमा हावा, पानी, माटो, वनस्पति, जीवजन्तु तथा अन्य जैविक–अजैविक तत्वहरू समावेश हुन्छन् । पृथ्वीमा जीवनको अस्तित्व वातावरणकै कारण सम्भव भएको हो । हामीले श्वास फेर्ने हावा, पिउने पानी, उत्पादन गर्ने अन्न, प्रयोग गर्ने ऊर्जा तथा जीविकोपार्जनका अधिकांश स्रोतहरू वातावरणसँग जोडिएका छन् । वातावरणीय सन्तुलन बिग्रिएमा पृथ्वीमा जीवन संकटमा पर्न सक्छ । त्यसैले वातावरण संरक्षण गर्नु भनेको पृथ्वी र सम्पूर्ण जीवमण्डलको संरक्षण गर्नु हो । फलतः विगत केही दशकयता विश्वले अभूतपूर्व वातावरणीय संकटको सामना गरिरहेको छ । औद्योगिक क्रान्तिपछि कार्बन उत्सर्जन तीव्र रूपमा बढेको छ। कोइला, पेट्रोलियम तथा प्राकृतिक ग्यासको अत्यधिक प्रयोगले हरितगृह ग्यासको मात्रा बढाएको छ । यसका कारण पृथ्वीको औसत तापक्रम निरन्तर वृद्धि भइरहेको छ । हिमनदीहरू पग्लिरहेका छन्, समुद्री सतह बढिरहेको छ र चरम मौसमी घटनाहरूको आवृत्ति तथा तीव्रता बढ्दै गएको छ । बाढी, पहिरो, डढेलो, खडेरी, आँधीबेहरी तथा तापलहरजस्ता विपद् अहिले विश्वव्यापी चुनौती बनेका छन् । जुन वन फँडानीले जैविक विविधतामा गम्भीर असर पारेको छ । धेरै जीवजन्तु तथा वनस्पति प्रजातिहरू लोप हुने अवस्थामा पुगेका छन् । प्लास्टिक प्रदूषणले महासागरदेखि हिमाली क्षेत्रसम्म असर पु¥याएको छ । यसरी वातावरणीय संकटले पृथ्वीको दीर्घकालीन स्वास्थ्यलाई नै चुनौती दिएको छ ।
आजको विश्वमा जलवायु परिवर्तनलाई पृथ्वीका लागि सबैभन्दा ठूलो चुनौती मानिन्छ । पृथ्वीको तापक्रम वृद्धि हुनुका कारण मौसम चक्र असन्तुलित बन्दै गएको छ । नेपालजस्ता हिमाली राष्ट्रहरू यसबाट झन् बढी प्रभावित छन् । हिमालमा हिउँ पग्लने गति बढेको छ । हिमताल विस्फोटको जोखिम बढेको छ । अनियमित वर्षा, असिनापानी, बाढी तथा पहिरोका घटनाहरू बढिरहेका छन् । कृषि उत्पादनमा नकारात्मक प्रभाव परेको छ । जलवायु परिवर्तनले केवल वातावरणलाई मात्र होइन, अर्थतन्त्र, स्वास्थ्य, खाद्य सुरक्षा तथा सामाजिक स्थिरतालाई समेत असर गरिरहेको छ । त्यसैले पृथ्वी बचाउने अभियानको केन्द्रबिन्दु जलवायु परिवर्तन नियन्त्रण हुनुपर्छ । वातावरण संरक्षण कुनै एक सरकार वा संस्थाको मात्र जिम्मेवारी होइन । यसमा प्रत्येक नागरिक, समुदाय, निजी क्षेत्र, शैक्षिक संस्था तथा अन्तर्राष्ट्रिय समुदायको समान भूमिका रहन्छ । एक व्यक्तिले सडकमा फोहोर नफाल्नु, वृक्षारोपण गर्नु, पानीको सदुपयोग गर्नु वा ऊर्जा बचत गर्नु पनि वातावरण संरक्षणकै महत्वपूर्ण योगदान हो । विद्यालयहरूले वातावरणीय शिक्षा दिन सक्छन् । उद्योगहरूले हरित प्रविधि अपनाउन सक्छन्। सरकारले वातावरणमैत्री नीति बनाउन सक्छ । जब समाजका सबै तह र तप्काले वातावरण संरक्षणलाई आफ्नो जिम्मेवारी ठान्छन् । तब मात्र पृथ्वी रक्षाको सामूहिक संकल्प सफल हुन्छ ।
वनलाई पृथ्वीको फोक्सो भनिन्छ । वनले कार्बन डाइअक्साइड सोस्ने र अक्सिजन उत्पादन गर्ने काम गर्छ । यसले जलचक्र सन्तुलित राख्छ, माटो संरक्षण गर्छ तथा जैविक विविधताको आश्रयस्थलका रूपमा कार्य गर्छ । नेपालमा सामुदायिक वन कार्यक्रम वातावरण संरक्षणको सफल उदाहरण मानिन्छ । स्थानीय समुदायको सक्रिय सहभागिताले वन क्षेत्र विस्तार भएको छ । यसले वातावरणीय सन्तुलन कायम राख्न महत्वपूर्ण योगदान पु¥याएको छ । यदि वन विनाश जारी रह्यो भने पृथ्वीको तापक्रम अझ तीव्र रूपमा बढ्नेछ । त्यसैले वन संरक्षण पृथ्वी संरक्षणको आधारभूत शर्त हो । वायु, जल तथा ध्वनि प्रदूषणले मानव स्वास्थ्य र वातावरण दुवैलाई हानि पु¥याउँछ । सवारी साधन, उद्योग, प्लास्टिकजन्य फोहोर तथा अव्यवस्थित शहरीकरण प्रदूषणका प्रमुख कारण हुन् ।

