काठमाडौँ – मुस्लिम धर्मावलम्बीहरूको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभर श्रद्धा र उल्लासका साथ मनाइँदै छ ।
इदुल फित्र अर्थात् रमजान पर्वको करिब ७० दिनपछि मनाइने बकर इदका अवसरमा मुस्लिम समुदायले बिहानै स्नान गरी नजिकका मस्जिद तथा इदगाहमा पुगेर सामूहिक नमाज अदा गरेका छन् । नमाजपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने परम्परा रहेको छ ।
काठमाडौँको नेपाली जामे मस्जिद, काश्मिरी मस्जिद लगायत देशभरका मस्जिद र इदगाहमा आज श्रद्धालुको उल्लेख्य भीड लागेको छ ।
मुस्लिम आयोग का पूर्वअध्यक्ष निर्दोष अली का अनुसार हिजरी संवत्अनुसार करिब १४३९ वर्षअघि अल्लाहको आदेशमा इब्राहिम ले आफ्ना छोरा इस्माएल लाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउने परम्परा सुरु भएको हो ।
मुस्लिम धर्मगुरु रहमत अली ले बकर इदको धार्मिक इतिहाससँग मोहम्मद सलल्ला को योगदान जोडिएको बताए । उनका अनुसार सन् ५७१ मा मक्का मा जन्मिएका मोहम्मद सलल्लाले इस्लाम धर्मको प्रचार–प्रसारलाई निरन्तरता दिएका थिए । उनले रचना गरेको ‘हदिस’ अहिले पनि मदरसाहरूमा अध्ययन अध्यापन हुने गरेको बताइएको छ ।
मौलाना अलीका अनुसार मोहम्मद सलल्ला ५३ वर्षको उमेरपछि मदिना सरेका थिए । यही ऐतिहासिक स्मृतिका कारण मक्का र मदिना इस्लाम धर्मका प्रमुख तीर्थस्थलका रूपमा परिचित छन् र त्यहाँ हजका अवसरमा ठूलो मेला लाग्ने गर्दछ ।
धार्मिक मान्यताअनुसार अल्लाहलाई खुसी पार्न जायज मानिएका जनावरको कुर्बानी (बलि) दिने प्रचलन रहेको छ । इब्राहिमले अल्लाहको आदेशअनुसार आफ्ना प्रिय पुत्रलाई कुर्बानी दिन तयार हुँदा अन्तिममा इस्माएलको सट्टा जन्नतबाट ल्याइएको दुम्बा कुर्बानी भएको विश्वास मुस्लिम समुदायमा प्रचलित छ । यही घटनाको सम्झनामा बकर इदमा कुर्बानी दिने परम्परा कायम रहेको बताइन्छ ।
परम्पराअनुसार कुर्बानीको मासु तीन भागमा बाँडिन्छ । एक भाग गरिब तथा विपन्न परिवारलाई, अर्को आफन्त तथा इष्टमित्रलाई र तेस्रो भाग आफ्नै परिवारका लागि राख्ने धार्मिक मान्यता छ ।
मुस्लिम समुदायले तीन दिनसम्म बकर इद मनाउने प्रचलन रहेको जनाएको छ । नेपाली जामे मस्जिद का अनुसार तीनै दिन कुर्बानी दिने धार्मिक विधि रहेको छ । पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

