काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीले एशियन गेम्स महिला छनोटअन्तर्गत चीन माथि १९ रनको उत्कृष्ट जित दर्ता गरेको छ ।
मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा बुधबार भएको खेलमा नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रन मात्रै बनाउन सक्यो ।
चीनका लागि मिङ्युए झुले सर्वाधिक ३० रन बनाइन् । यस्तै वाङ हुईयिङले २१ तथा वेई हैटिङले १८ रनको योगदान दिइन् ।
नेपालका लागि रिया शर्मा ले उत्कृष्ट बलिङ गर्दै २ विकेट हात पारिन् । त्यस्तै मनीषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान १/१ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२५ रन बनाएको थियो ।
नेपालका लागि पूजा महतोले शानदार अर्धशतकीय इनिङ्स खेल्दै ६३ रन बनाइन् । यस्तै रुवी पोद्दार २२ रनमा अविजित रहिन् ।
चीनका लागि मा रुइकेले २ विकेट लिइन् भने वाङ हुईयिङ र जियापिङ लीले समान १/१ विकेट हात पारे ।
नेपालले आज इन्डोनेसिया विरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

