काठमाडौँ । एशियन गेम्स महिला छनोटअन्तर्गत चीनविरुद्ध शानदार जित निकालेपछि नेपाली महिला क्रिकेट टोलीले आज इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
मलेसियाको बायुमास ओभल क्रिकेट मैदानमा भएको अघिल्लो खेलमा नेपालले चीनलाई १९ रनले पराजित गर्दै प्रतियोगितामा महत्वपूर्ण जित दर्ता गरेको थियो । नेपालले दिएको १२६ रनको लक्ष्य पछ्याएको चीनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १०६ रन मात्रै बनाउन सक्यो ।
चीनका लागि मिङ्युए झुले सर्वाधिक ३० रन बनाउँदा वाङ हुईयिङले २१ तथा वेई हैटिङले १८ रन जोडिन् । नेपालका तर्फबाट रिया शर्माले उत्कृष्ट बलिङ गर्दै २ विकेट लिइन् भने मनीषा उपाध्याय, कविता कुँवर र पूजा महतोले समान एक–एक विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १२५ रन बनाएको थियो । नेपालका लागि पूजा महतोले शानदार अर्धशतक प्रहार गर्दै ६३ रन बनाइन् । रुवी पोद्दार २२ रनमा अविजित रहिन् ।
चीनका बलर मा रुइकेले २ विकेट लिँदा वाङ हुईयिङ र जियापिङ लीले समान एक–एक विकेट हात पारेका थिए ।
चीनमाथिको उत्साहजनक जितपछि नेपाली टोली आज इन्डोनेसियाविरुद्ध पनि जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने तयारीमा रहेको छ ।

