काठमाडौँ । जेठ १४ गतेदेखि १७ गतेसम्म लगातार चार दिन सार्वजनिक बिदा परेको छ ।
गृह मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै जेठ १४ गते बकर ईद (ईद–उल–अज्हा) का अवसरमा सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ ।
गृह मन्त्रालयका सहसचिव तथा प्रवक्ता आनन्द काफ्लेद्वारा जारी विज्ञप्तिअनुसार नेपाल राजपत्रमा प्रकाशित सूचना बमोजिम इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईदका दिन सार्वजनिक बिदा दिने व्यवस्था रहेको छ ।
यसअघि नै राजपत्रमार्फत जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय प्रकाशित भइसकेको छ ।
त्यसपछि जेठ १६ गते शनिबार र १७ गते आइतबार नियमित सार्वजनिक बिदा परेकाले लगातार चार दिन सरकारी कार्यालय तथा अधिकांश संस्थाहरू बन्द रहनेछन् ।

