धनकुमार श्रेष्ठ
महासचिव,
नेपाल लाइब्रेरी फाउन्डेसन
स्थापना र परिचयात्मक पृष्ठभूमि:
सुबुधी महानन्द प्राज्ञिक पुस्तकालय सर्लाही जिल्लाको सदरमुकाम मलङ्गवाबाट करिब १५ किलोमिटर पश्चिम तथा भारतको सीमाना/बोर्डरबाट करिब २ किलोमिटर दूरीमा अवस्थित सिमरा बस्ती, विष्णु गाउँपालिका-६ मा रहेको एक महत्वपूर्ण सार्वजनिक तथा प्राज्ञिक पुस्तकालय हो। यही वडामा विष्णु गाउँपालिकाको कार्यालयसमेत रहेको छ। विगत १५ वर्षदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको यस पुस्तकालयले सीमित स्रोत, साधनका बीच पनि समुदायमा ज्ञान, पठनसंस्कृति, बौद्धिक चेतना तथा सामाजिक जागरणको उज्यालो फैलाउँदै आइरहेको छ।
समाजसेवी महानन्द झा तथा उहाँका सुपुत्रद्वय पुस्तकालय प्रेमी डा. विजय झा र डा. सुनील झाको सकारात्मक सोच, सामाजिक उत्तरदायित्वबोध तथा शिक्षाप्रतिको प्रतिबद्धताबाट स्थापना भएको यस पुस्तकालयलाई सार्वजनिक स्वरूप प्रदान गरी समुदायका सबै वर्ग, तह र तप्काका नागरिकहरूको साझा ज्ञान केन्द्र बनाउने उद्देश्य राखिएको थियो। यही उद्देश्यअनुसार २०६७ माघ १३ गते “सुबुधी महानन्द प्राज्ञिक पुस्तकालय” नामकरण गरी जिल्ला प्रशासन कार्यालय मलङ्गवामा विधिवत् दर्ता गरिएको हो।
व्यवस्थापनपछि समुदायस्तरमा खुला सेवा:
नेपाल लाइब्रेरी फाउन्डेसनको प्राविधिक संयोजनमा २०६८ माघ २६ गतेदेखि फागुन ७ गतेसम्म पुस्तकालय व्यवस्थापन तथा सञ्चालनसम्बन्धी ११ दिने तालिम सञ्चालन गरिएको थियो। उक्त तालिमपछि पुस्तकालयलाई व्यवस्थित ढंगले सञ्चालनमा ल्याई सोही दिनदेखि समुदायस्तरमा औपचारिक सेवा प्रारम्भ गरिएको हो। स्थापना कालदेखि नै यस पुस्तकालयले अध्ययन, अनुसन्धान, बालविकास, सूचना पहुँच तथा सामाजिक सचेतनाका क्षेत्रमा सकारात्मक प्रभाव पार्दै आएको छ। सिमरा तथा आसपासका ग्रामीण क्षेत्रका विद्यार्थी, शिक्षक, बुद्धिजीवी, कर्मचारी, महिला, युवायुवती तथा जेष्ठ नागरिकहरू समेत यस पुस्तकालयबाट लाभान्वित हुँदै आएका छन्। पुस्तकालयले ज्ञानको पहुँचलाई समुदायसम्म पुर्याउने, पठनसंस्कृतिको विकास गर्ने तथा सकारात्मक सामाजिक वातावरण निर्माण गर्ने कार्यमा निरन्तर योगदान दिइरहेको छ।
पुस्तकालय प्रयोग र वर्तमान अवस्था:
हाल यस पुस्तकालयमा सामान्यज्ञान, धर्म, कानून, सामाजिक अध्ययन, शुद्ध विज्ञान, साहित्य, जीवनी, इतिहास, भूगोल तथा लोकसेवासम्बन्धी विविध विधाका ४,१०१ थान पुस्तकहरू संग्रहित रहेका छन्। दैनिक रूपमा ५ देखि १३ जनासम्म पाठकहरूको नियमित उपस्थिति रहने गरेको छ। पुस्तकालयमा अध्ययन कक्ष, बाल कक्ष तथा साधारण सेवा कक्षको व्यवस्था रहेको छ। हालसम्म यस पुस्तकालयको सही उपयोगको माध्यमबाट शिक्षा सेवा, प्रहरी सेवा, सरकारी सेवामा लोकसेवा उतीर्ण गर्नेहरूको संख्या ३ दर्जन भन्दा बढी छन्।
आगामी योजना र लक्ष्य:
समुदायमा पुस्तकालयको आवश्यकता र महत्वलाई व्यवहारिक रूपमा प्रमाणित गर्दै आफ्नै बलबुतोबाट सञ्चालन हुँदै आएको यस पुस्तकालयले भविष्यमा अझ व्यवस्थित, प्रविधिमैत्री र स्रोतसम्पन्न ज्ञान केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखेको छ। पठनसंस्कृति प्रवर्द्धन, बालबालिकामा अध्ययन बानीको विकास, युवाहरूलाई सकारात्मक दिशातर्फ प्रेरित गर्ने तथा समुदायमा बौद्धिक वातावरण निर्माण गर्ने यसको प्रमुख उद्देश्य रहेको छ। साथै, नजिकै रहेको सुबुधी महानन्द विद्याश्रम स्कुलका शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूलाई प्राथमिकतामा राखी पुस्तकालय उपयोगलाई अझ संस्थागत बनाउने योजना रहेको छ।
स्थानीय सरकारसँग सहकार्यको आवश्यकता:
यस पुस्तकालयको अवलोकनका क्रममा हालसम्म स्थानीय पालिकाबाट कुनै प्रकारको प्रत्यक्ष सहयोग प्राप्त नभएको अवस्था देखिन्छ। जबकि देशका विभिन्न स्थानीय तहहरूले पुस्तकालय विकासका लागि पुस्तक खरिद, कम्प्युटर तथा आईसीटी कार्यक्रम, फर्निचर सहयोग, तालिम तथा व्यवस्थापन सुधारजस्ता कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
तर, यति महत्वपूर्ण सामाजिक र शैक्षिक संस्थाका रूपमा स्थापित यस पुस्तकालय भने स्थानीय सरकारको प्राथमिकताबाट बाहिर परेको अनुभूति हुन्छ। झा परिवारको निरन्तर प्रयास र समर्पणमा सञ्चालन भइरहेको यस संस्थालाई यदि स्थानीय सरकारले संस्थागत साझेदारका रूपमा स्वीकार गर्न सकेमा यसले समुदायको शैक्षिक, बौद्धिक र सामाजिक विकासमा ठूलो योगदान पुर्याउन सक्छ।
यस्ता सामाजिक संस्थाहरूको संरक्षण र प्रवर्द्धनमा स्थानीय तहको सक्रियता अपरिहार्य देखिन्छ। उचित सहयोग प्राप्त भएमा यो पुस्तकालय विष्णु गाउँपालिकाको मात्र होइन, सर्लाही जिल्लाकै एक नमुना पुस्तकालयका रूपमा स्थापित हुने प्रबल सम्भावना बोकेको संस्था हो।
निष्कर्ष:
सुबुधी महानन्द प्राज्ञिक पुस्तकालय सीमित स्रोतका बीच पनि १५ वर्षदेखि निरन्तर समुदायमा ज्ञान, पठनसंस्कृति र बौद्धिक चेतना फैलाउँदै आएको एक महत्वपूर्ण सामाजिक संस्था हो। यसले स्थानीय क्षेत्रको शैक्षिक तथा सामाजिक विकासमा उल्लेखनीय योगदान दिँदै आएको छ। तर यसको योगदानका बाबजुद स्थानीय सरकारबाट अपेक्षित सहयोग नपाउनु दुःखद पक्ष हो। यदि स्थानीय तहले यसलाई संस्थागत रूपमा स्वीकार गरी पुस्तक, प्रविधि, तालिम र व्यवस्थापनमा सहयोग पुर्याउन सकेमा यो पुस्तकालय विष्णु गाउँपालिकाकै नमुना मात्र होइन, सर्लाही जिल्लाकै एक उत्कृष्ट ज्ञान केन्द्र बन्न सक्ने स्पष्ट सम्भावना छ।
समग्रमा, यो पुस्तकालय समुदायको बौद्धिक भविष्य निर्माण गर्ने आधारस्तम्भ हो, जसको संरक्षण, प्रवर्द्धन र विकास सबै सरोकारवालाको साझा जिम्मेवारी भित्र पर्छ।

