काठमाण्डौ । कृष्णप्रसाद यादवले आज मधेश प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । विश्वासको मतका लागि दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरिएको छ ।
जनमत पार्टीले गत वैशाख २१ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिनुपर्ने अवस्था आएको हो । यसअघि जेठ १ गतेका लागि विश्वासको मत लिने तयारी भएपनि आफ्नै दल नेपाली कांग्रेसभित्र असन्तुष्टि देखिनुका साथै जनता समाजवादी पार्टी, नेपालले समर्थनबारे निर्णय नगर्दा प्रक्रिया रोकिएको थियो ।
नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री यादवले विश्वासको मतअघि मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । उनले सरकारबाट जसपा नेपाललाई बाहिर गर्दै नेकपा एमालेलाई सरकारमा सहभागी गराएका हुन् ।
बिहीबार राति एमालेका प्रदेशसभा सदस्य मोहम्मद समीरलाई विनाविभागीय मन्त्री नियुक्त गरिएको थियो भने जसपा नेपालबाट सरकारमा रहेका मन्त्रीहरूलाई बर्खास्त गरिएको छ ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा हाल १०१ जना सदस्य कायम रहेका छन् । अहिले सरकार पक्षमा एमालेका २४, नेपाली कांग्रेसका २२ तथा नेपाल कम्युनिष्ट पार्टीका १४ जना प्रदेशसभा सदस्य रहेका छन् ।
यसअघि जेठ १ गते विश्वासको मत लिने तयारी गरिए पनि ‘फ्लोर क्रस’ हुने सम्भावना देखिएपछि अन्तिम समयमा उक्त कार्यसूची हटाइएको थियो ।

