काठमाण्डौ । जङ्गली च्याउ खाँदा पाल्पाको रम्भा गाउँपालिका–५ फलकुनमा दुई जनाको मृत्यु भएको छ । जङ्गली च्याउ खाएपछि फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।
उनका अनुसार च्याउ खाएर बिरामी परेका उनीहरुको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो ।
भट्टराईले भने-‘गत शुक्रबार नजिकैको जङ्गलबाट उहाँहरूसहित तीन जनाले च्याउ ल्याएर खानु भएको रहेछ । शनिबार बिहानदेखि बान्ता र झाडापखला हुन थालेपछि उपचारका लागि अस्पताल र्पुयाइएको थियो’, प्रनाउ भट्टराईले भने, ‘उपचारका क्रममा विनिमायाको सोमबार र बालकुमारीको मङ्गलबार मृत्यु भएको हो ।’
विरामी भएकी ५० वर्षीया यममाया जर्घा मगरको भने उपचार भइरहेको छ । उनको समेत अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसैगरी, जिल्लाको तानसेन, निस्दी र माथागढीमा पनि विषालु च्याउ खाएर १२ जना बिरामी परेका छन् ।

