– माधव घिमिरे ‘अटल’
जेठ सात गते बिहीवार पण्डित विष्णुदत्त भट्टराई स्मृतिग्रन्थ प्रकाशन समितिले राजधानीमा आयोजित एक विशेष समारोहबीच स्मृतिग्रन्थ सार्वजनिक गरेको छ ।
सो ग्रन्थबारे विमोचन समारोहलाई प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्दै नेपाल संस्कृत विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रमुख अतिथि प्रा.डा.सुदन पौडेलले विष्णुदत्त भट्टराईका सद्गुणको विशद् चर्चा गर्नुभयो । यसै सिलसिलामा पौडेलले क्षेत्रगतरूपमा गाउँलेलाई भट्टराईले आलोकित गरेको तर उहाँका आफन्तहरूले देशलाई नै आलोकित गरेको बताउनुभयो ।
सम्बोधनको कडीलाई जोड्दै विशेष अतिथि पूर्व परराष्ट्र मन्त्री बालानन्द शर्माले भट्टराई एक विशिष्ट शिक्षाप्रेमी भएको बताउनुभयो। त्यो अन्धकार कालखण्डमा चेतनाको आलोक छर्नु सामान्य काम नभएको तर्क गर्दै त्यस्तो कष्टकर काम समाजमा निकै कम मान्छेबाट मात्र सम्भव हुने जिकिर गर्नुभयो ।
यसैगरी बालसाहित्य समाज नेपालका उपाध्यक्ष तथा वरिष्ठ साहित्यकार विजयराज न्यौपानेले नश्वर शरीर मरेर गएपनि विष्णुदत्त भट्टराईको योगदान स्मरण गर्नुभयो । सिरान्चोक मौजामा उहाँले अध्यापन गराउनु भयो जसले राणाकालमा चेतनाको दीप प्रज्वलित गर्नुभयो भन्ने बताउँदै समग्रमा कृति अत्यन्त राम्रो भएको न्यौपानेले जिकिर गर्नुभयो । उहाँले कृतिमा समाविष्ट विभिन्न उत्कृष्ट लेखहरूको सङ्क्षिप्त विश्लेषण गर्नुभयो ।
प्रा. शिवहरि मरहट्टाले कृति प्रकाशन अभिप्रायको चर्चा गर्दै पण्डित विष्णुदत्त भट्टराई स्वयम्लाई परिचित गराउनु यसको एउटा अभीष्ट भएको दाबी गर्नुभयो । भट्टराईको अभाव यतिखेर झन् बढी खड्किएको मरहट्टाको स्पष्टोक्ति थियो । आर्थिक रूपमा अत्यन्त पारदर्शी र मरहट्टाले उहाँ कहिल्यै लोभलालचमा नफसेको असल मानव भएको पनि मरहट्टाको दाबी थियो ।
पूर्व मन्त्री तथा राजनीतिज्ञ रामचन्द्र अधिकारीले हिन्दुहरूले ज्यानलाई नभई ज्ञानलाई गुरु मान्ने दाबी गर्दै विष्णुदत्त गुरुको प्रेरणा अत्यन्त विशिष्ट भएको र उहाँले चेतनाको खेती गरेको बताउनुभयो ।
कार्यक्रममा उपस्थितजनहरूलाई धन्यवाद ज्ञापन गर्दै शिक्षाविद् ईश्वर न्यौपानेले विष्णुदत्त भट्टराई अत्यन्त मेहनती, उपकारी र नैतिकवान् समाजसेवी भएको बताउनुभयो । न्यौपानेले भट्टराई धर्तीमै सुपरिचित भएको भान हुने भन्दै उहाँका भुलेका पाटालाई कृतिले उजागर गरेकोमा कृति प्रकाशन समूहलाई विशेष धन्यवाद अर्पण गर्नुभयो ।
प्रा.डा. दण्डपाणि अधिकारीले पण्डित विष्णुदत्त भट्टराईसँगका सान्निध्य र आफूले लिएको ज्ञानको लाभबारेमा मन्तव्य प्रकट गर्नुभयो ।
बिचौरस्थित वागेश्वरी मा.वि.का पूर्वप्रअ तथा विद्वत् व्यक्तित्व हृदयनिधि तिवारीले शिक्षा क्षेत्रमा विष्णुदत्तको योगदान अविस्मरणीय रहेको स्मरण गर्नुभयो ।
डा.श्रीकृष्ण न्यौपानेले कृतिको साङ्गोपाङ्ग शल्यक्रिया गर्दै पुस्तकको आद्योपान्त र आफ्नो पारिवारिक सम्बन्धबारे विस्तृत विवरण प्रस्तुत गर्नुभयो ।
प्रगतिवादी लेखक यदुनाथ भट्टराईले आफ्ना काहिँलाबा विष्णुदत्त भट्टराईले दिएका उपदेश आफूले अद्यापि स्मरणीय रहेको भन्दै उहाँको काखमा लुटपुटिएको बालापनको स्मरण गर्नुभयो ।
प्रा.डा. नवराज कट्टेलले कृतिमा समाविष्ट रचनाबारे सङ्क्षिप्त चर्चा गर्दै राणाकालीन समयमा कसरी शिक्षाको प्रचारप्रसार भयो भन्नेबारे ग्रन्थले प्रकाश पारेको खुलासा गर्नुभयो ।
राजनीतिकर्मी गर्जबहादुर गुरुङले ‘भट्टराई पण्डित’ आफ्नो मीतमामा रहेको बताउँदै आफूले उहाँ तीनतले घरमा बडो सानदार ढङ्गले बसेको देखेको अवगत गराउनुभयो । शिक्षा क्षेत्रमा उहाँको योगदान अतुलनीय रहेको गुरुङको दाबी थियो ।
शुभकामना मन्तव्यकै सिलसिलामा सुरेश शर्माले आफूले अहिले गरेको गौरव महसुसको कारक नै पण्डित विष्णुदत्त भट्टराई भएको प्रस्ट पार्नुभयो ।
सोही कडीलाई जोड्दै बिचौरका स्थानीयवासी कालिका दवाडीले विष्णुदत्त समाज सेवादेखि औषधिमूलोको क्षेत्रमा निकै चर्चित रहेको बताउनुभयो ।
इन्जिनियर नरनाथ पौडेलले पनि विष्णुदत्त भट्टराईबाट प्राप्त प्रेरणा र त्यसको आफूलाई प्राप्त दीर्घकालीन लाभबारे विचार प्रकट गर्दै भट्टराईको स्मरण गरी काव्य वाचन गर्नुभयो ।
आफन्त र विद्वत् वर्गको सघन एवम् गरिमामय उपस्थिति रहेको सो कार्यक्रममा कवि शम्भु अधिकारीले आमन्त्रितहरूलाई स्वागतका शब्दगुच्छा अर्पण गर्नुभएको थियो । उक्त कार्यक्रमको अध्यक्षता गर्नुभएका ईश्वरी न्यौपानेले कृतिमा भएका अनपेक्षित त्रुटिउपर सम्पादनसँग आबद्ध सबैको तर्फबाट क्षमा याचना गर्दै कार्यक्रमको समापन गर्नुभएको थियो ।

