काठमाडौँ । नेपालमा हाल पश्चिमी वायु, स्थानीय वायु तथा पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बिहिबार बिहान कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रहेको छ भने बाँकी पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली छ । तराईका अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।
यसैबीच कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको जनाइएको छ ।
आज दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्य बदली रहने सम्भावना छ । मधेस प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा तथा मधेस, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपात हुन सक्ने सम्भावना रहेको छ । बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि केही स्थानमा वर्षाको सम्भावना छ ।
त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागमा गर्मी बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने मधेस प्रदेशसहित बागमती र गण्डकीका तराई क्षेत्र तथा अन्य प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहने अनुमान गरिएको छ । बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
महाशाखाले रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ ।

