काठमाडौँ । साहित्यकार प्रकाश सापकोटाको नयाँ उपन्यास ‘विरक्त बाटो’ बजारमा आएको छ । घरदेखि परदेशसम्मको प्रेमकथामा आधारित उपन्यासले वैदेशिक यात्रासँग जोडिएका संघर्ष, सम्बन्ध र जीवनका उतारचढावलाई प्रस्तुत गरेको लेखक सापकोटाले बताएका छन् ।
उपन्यासमा डेनमार्क जान संघर्षरत एक नेपाली युवतीको जीवन, प्रेम र परदेशी भोगाइलाई कौतुहलपूर्ण शैलीमा चित्रण गरिएको बताइएको छ । गलत संगत र आचरण भएको युवकसँगको प्रेमले जीवनमा ल्याएको संकटलाई कथाको मुख्य विषय बनाइएको छ ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष साहित्यकार गोवर्द्धन पूजाले उपन्यासले नेपालदेखि युरोपसम्मको परिवेश समेट्दै घर छोड्ने नेपाली युवाको पीडा बोकेको टिप्पणी गरेका छन् ।
त्यस्तै, अनेसासका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीले उपन्यासले नेपाली पात्रहरूको जीवनका अनेक मोडलाई सटिक रूपमा चित्रण गर्दै परदेशी जीवन सोचेजस्तो सहज नहुने यथार्थ उजागर गरेको बताए ।
उपन्यासकार सापकोटाले आफू लामो समयदेखि परदेशमा बस्दै आएकोले धेरै घटनाका प्रत्यक्ष भुक्तभोगी भएकाले कृतिमा उठाइएको विषय यथार्थसँग नजिक रहेको बताएका छन् । उनका अनुसार कतिपय पाठकलाई उपन्यास आफ्नै कथा वा कतै देखे–सुनेका घटनाजस्तै लाग्न सक्छ ।
डेनमार्क निवासी साहित्यकार सापकोटाको यो दोस्रो उपन्यास तथा छैटौँ कृति हो । ३९५ रुपैयाँ मूल्य रहेको उपन्यास शिखा बुक्स मार्फत प्रकाशन भएको हो ।

