मुस्ताङ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दस महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ जिल्ला पुगेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएका हुन् ।
प्रहरीका सूचना अधिकारी तथा प्रहरी निरीक्षक सन्तोष बस्याल का अनुसार सो अवधिमा चार लाख २० हजार ८६ जना आन्तरिक तथा एक लाख ५३ हजार ८९१ जना बाह्य पर्यटक मुस्ताङ पुगेका छन् ।
आन्तरिक पर्यटकतर्फ दुई लाख १९ हजार ८१७ पुरुष र दुई लाख २६९ महिला रहेका छन् । यस्तै बाह्य पर्यटकतर्फ ९० हजार ९५७ पुरुष तथा बाँकी महिला पर्यटक रहेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ ।
म्याग्दी र मुस्ताङको सिमाना घाँसा स्थित प्रहरी चेक पोस्टमा दर्ता भएको विवरणअनुसार सबैभन्दा कम साउन महिनामा १९ हजार ७९१ जना तथा सबैभन्दा बढी वैशाखमा एक लाख पाँच हजार ५०३ जना पर्यटक मुस्ताङ पुगेका थिए ।
प्रहरी निरीक्षक बस्यालका अनुसार चालु आवको साउनदेखि वैशाखसम्म कोरला सडकमार्ग हुँदै एक लाख ३१ हजार ६७२ वटा सवारीसाधन मुस्ताङ प्रवेश गरेका छन् । वसन्त ऋतु सुरु भएसँगै चैत र वैशाखमा पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको उनले बताए ।
त्यसैगरी असोजमा ७५ हजार ५९९ र कात्तिकमा ८३ हजार ७६६ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ पुगेका थिए । बर्खायामको सुरुवाती समय र अनुकूल मौसमका कारण यस अवधिमा भ्रमण गर्नेको चाप बढ्ने गरेको जनाइएको छ।
प्रहरीका अनुसार मुस्ताङ पुग्ने बाह्य पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी भारतीय नागरिक छन् । भारतीय तथा नेपाली पर्यटक विशेषगरी मुक्तिनाथ मन्दिर दर्शनका लागि मुस्ताङ पुग्ने गरेका छन् ।
गत आर्थिक वर्षमा सात लाख पाँच हजार ७७९ जना पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । तीमध्ये पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक तथा एक लाख ५० हजार ४५३ जना बाह्य पर्यटक रहेका थिए ।
प्रहरी निरीक्षक बस्यालका अनुसार चालु आवको भदौ महिनामा ‘जेनजी’ युवाको आन्दोलन तथा अमेरिका–इजरायल र इरानबीचको मध्यपूर्व द्वन्द्वका कारण पर्यटन क्षेत्रमा आंशिक असर परेको थियो ।
कागबेनीधाममा श्राद्ध तथा तर्पण, कोरला नाका र लोमान्थाङ अवलोकनका साथै हिमाली सौन्दर्य, जैविक विविधता, प्राचीन कला–संस्कृति र मौलिक जीवनशैलीका कारण मुस्ताङप्रति पर्यटकको आकर्षण वर्षेनि बढ्दै गएको सरोकारवालाले बताएका छन् ।

