जेठ ७, काठमाडौं
बालबालिकामा पठन संस्कृतिको विकास गर्ने उद्देश्यले आगामी शनिबार काठमाडौँमा एकैसाथ पाँच वटा नयाँ बालसाहित्यिक कृतिको विमोचन हुने भएको छ । बालसाहित्य अभियान अन्तर्गत सूचक प्रकाशनको आयोजनामा यो बृहत् पुस्तक विमोचन समारोह हुन लागेको हो । बालसाहित्य अभियानको संयोजनकारी भूमिका तथा सहकार्यमा शब्द सरोवर डटकम (shabdasarobar.com), लोमश वाङ्मय प्रतिष्ठान र बाल संस्कार डटकम (baalsanskar.com) समेतको प्रत्यक्ष संलग्न रहेका छन्
यही आगामी २०८३ साल जेठ ९ गते शनिबार बिहान पुतलीसडकस्थित ‘ग्रीन लिफ फूड रेस्टुरेन्ट’ मा एक विशेष समारोहका बीच यी कृतिहरू सार्वजनिक गरिने आयोजकले जनाएका छन् ।
कार्यक्रममा विमोचन हुने कृतिहरु जलेश्वरी श्रेष्ठकृत बालउपन्यास ‘सुनपरी’ सुशीला देउजाको बालकथासङ्ग्रह ‘काले’बिमलादेवी अधिकारीको बालकवितासङ्ग्रह ‘जुन’ , दीपक भेटुवाल ‘दीपसागर’ को बालकथासङ्ग्रह ‘लड्डुको खोज’ र निद्रा देउजा राजवंशीको कवितासङ्ग्रह ‘अमूर्त घर’को संयुक्त विमोचन गरिने जनाइएको छ ।
आयोजकका अनुसार पुस्तक पढ्ने बानी भएका बालबालिका नै भविष्यका सचेत, सभ्य, सिर्जनशील र जिम्मेवार नागरिक बन्न सक्छन् । त्यसैले पठन संस्कृतिको विकास केवल एउटा साहित्यिक अभियान मात्र नभई समाज निर्माणको जग पनि हो । आयोजकले यस कार्यलाई केवल आफ्नो मात्र नभई सम्पूर्ण समाजको साझा अभियानका रूपमा लिएको बताएका छन् ।

