काठमाडौँ । सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको बचत रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बुधबार कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका बचतकर्तालाई रकम फिर्ता गरेको हो ।
समितिका अनुसार कृषि सहकारीका ८८ जना तथा शिव शिखर बहुउद्देश्यीय सहकारीका थप २१६ जना बचतकर्ताले आफ्नो बचत फिर्ता पाएका हुन् ।
यसअघि समितिले कान्तिपुर सहकारीका २१५ जना, शिव शिखर बहुउद्देश्यीय सहकारीका १५६ जना र पशुपति सहकारीका सात जना गरी ३७८ जना साना बचतकर्ताको रकम फिर्ता गरेको थियो ।
समितिले पहिलो चरणमा न्यून रकम बचत गरेका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरिएको जनाएको छ । आगामी दिनमा पनि बचत रकमका आधारमा वर्गीकरण गर्दै क्रमशः रकम फिर्ता गरिने बताइएको छ ।
समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताको झन्डै ४६ अर्ब रुपैयाँ फिर्ता गर्न बाँकी छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् । पाँच लाख रुपैयाँभन्दा कम बचत गर्नेहरुलाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी बचत गर्नेहरुलाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ ।
कुल ७६ हजार बचतकर्तामध्ये पाँच लाख भन्दा कम बचत गर्ने ५८ हजार र पाँच लाख रुपैयाँभन्दा बढी बचत गर्ने करिब १८ हजार रहेका छन् ।

