काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा निर्णय गर्ने कार्यसूची तय गरिएको छ ।
संभावित कार्यसूचीअनुसार प्रधानमन्त्री बालेन्द्र शाह का तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम ले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
त्यस्तै, मन्त्री गौतमले मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि सदनमा पेश गर्ने कार्यसूची रहेको छ । साथै राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने सम्भावना छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । उक्त विधेयकमाथि प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची पनि रहेको छ ।
यसैगरी अर्थमन्त्री डा. वाग्लेले वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रतिनिधिसभामा प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।


