धनकुमार श्रेष्ठ
पुस्तकालय केवल पुस्तक भेलापार्ने, थन्क्याउने र सजाएर राख्ने ठाउँ मात्र होइन। पुस्तकालय त ज्ञान, चेतना, खोज-अनुसन्धान, अध्ययन, गहिरो पठन र पठनपछिको समीक्षा तथा विमर्शको जीवित केन्द्र बन्नुपर्छ। जहाँ पुस्तकहरू केवल र्याकमा सीमित हुँदैनन्, बरु पाठकको चेतनासँग संवाद गर्छन्। पुस्तकालयले मानिसलाई सोच्न, प्रश्न गर्न, खोज्न र आफूभित्रको बौद्धिक संसारलाई विस्तार गर्न प्रेरित गर्नुपर्छ।
एउटा सशक्त पुस्तकालय समाजको बौद्धिक धरोहर हो। यो साहित्यिक संस्था, स्रष्टा, लेखक, साहित्यकार, अनुसन्धानकर्ता र पाठकहरूबीचको साझा आस्थाको थलो बन्नुपर्छ। पुस्तकालयमा पुस्तक मात्र होइन, विचार पनि जीवित हुनुपर्छ। विचारको बहस, अनुभवको आदान-प्रदान र सिर्जनात्मक संवादले नै पुस्तकालयलाई साँच्चिकै जीवन्त बनाउँछ।
आजको समयमा धेरै पुस्तकालयहरू केवल औपचारिकतामा मात्र सीमित भएका देखिन्छन्। भवन छन्, पुस्तक छन्, फर्निचर छन्, तर पाठकको चहलपहल छैन। यसको मुख्य कारण पुस्तकालयले आफ्नो वास्तविक भूमिका विस्तार गर्न नसक्नु हो। पुस्तकालयभित्र नियमित रूपमा पुस्तक बहस, परिचर्चा, पुस्तक समीक्षा, लेखकसँग संवाद, पाठक भेटघाट, अध्ययन गोष्ठी तथा विचार आदान-प्रदानका कार्यक्रम सञ्चालन हुन जरुरी छ। यस्ता गतिविधिले पाठकहरूलाई पुस्तकालयतर्फ आकर्षित गर्छन्, पुस्तकसँग आत्मीय सम्बन्ध जोड्छन् र पठन संस्कृतिलाई समाजमा गहिरोसँग स्थापित गर्न मद्दत गर्छन्।
पठन संस्कृतिको विकास बिना चेतनशील समाज निर्माण सम्भव हुँदैन। पुस्तकालयले समाजमा अध्ययनशील वातावरण सिर्जना गर्छ। यसले युवापुस्तालाई सकारात्मक सोच, सिर्जनशीलता र बौद्धिक मार्गतर्फ डोर्याउन सक्छ। मोबाइल र सामाजिक सञ्जालको बढ्दो प्रभावबीच पुस्तकालयले अझ सशक्त र जीवन्त भूमिका निर्वाह गर्न आवश्यक छ। यदि पुस्तकालयले समयअनुसार आफूलाई सक्रिय, सिर्जनात्मक र पाठकमैत्री बनाउन सके, त्यसले समाजमा ज्ञानको उज्यालो फैलाउने काम अझ प्रभावकारी ढंगले गर्न सक्छ।
पुस्तकालयको वास्तविक सौन्दर्य केवल भवन, र्याक वा पुस्तकको सङ्ख्यामा मापन हुँदैन। यसको सौन्दर्य त त्यहाँ हुने पाठकहरूको उपस्थिति, विचारको बहस, ज्ञानको खोज र बौद्धिक गतिविधिमा झल्किन्छ। जहाँ पुस्तकालय जीवित हुन्छ, त्यहाँ समाज पनि बौद्धिक रूपमा जागृत हुन्छ।
पुस्तकालयले आफ्नो यही मूल धर्म इमानदारीपूर्वक निभाउन सके, पुस्तकालयप्रतिको विश्वास, सामाजिक महत्त्व, प्रचार-प्रसार र जनआकर्षण स्वतः विस्तार हुँदै जानेछ। पुस्तकालयलाई साँच्चिकै समाज परिवर्तनको केन्द्र बनाउने जिम्मेवारी अब हामी सबैको साझा दायित्व हो।

