काठमाडौं। सरकारले माग सम्बोधन गर्ने सहमति गरेपछि आन्दोलन स्थगित गरेको नेपाल नर्सिङ सङ्घले पुनः आन्दोलनमा फर्किने चेतावनी दिएको छ।
शनिबार मात्रै स्वास्थ्य मन्त्रालयसँग भएको छलफलपछि आन्दोलन स्थगित गर्ने घोषणा गरे पनि मागहरू पूर्ण रूपमा सम्बोधन नभएको भन्दै सङ्घले असन्तुष्टि जनाएको हो।
आइतबार जारी विज्ञप्तिमा सङ्घले भनिएको छ— “स्वास्थ्य मन्त्रालयमा भएको छलफलमा सरकारी पाँचौँ तह बराबरको तलब दिने विषयमा सहमति भएको भए पनि अन्य बुँदामा कुनै ठोस निष्कर्ष नआएकाले आन्दोलनका कार्यक्रम पूर्वयोजनाअनुसारै अघि बढाइनेछ।”
सङ्घकी महासचिव डा. देवकाकुमारी आचार्यद्वारा जारी विज्ञप्तिअनुसार, आइतबार बसेको आकस्मिक बैठकले सरकारलाई ४८ घण्टाभित्र माग पूरा गर्न अल्टिमेटम दिएको छ।
त्यसपछि पनि माग सम्बोधन नभए सरकारी, निजी, गैरसरकारी, मेडिकल कलेज तथा प्रतिष्ठानहरूमा अत्यावश्यकबाहेक सम्पूर्ण नर्सिङ सेवा देशव्यापी रूपमा बन्द गर्ने चेतावनी दिइएको छ।
यसैबीच, स्वास्थ्य मन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्षहरूसँग सहमति भएको र सहमतिका बुँदा सार्वजनिक गरेको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा भनिएको छ—
“नर्सिङ सङ्घ, अफिन र निजी मेडिकल तथा डेन्टल कलेज एसोसिएसनका प्रतिनिधिबीच सहमति भएको छ। बाँकी असन्तुष्ट बुँदा एक महिनाभित्र आपसी छलफलबाट दीर्घकालीन रूपमा समाधान गरिनेछ।”
मन्त्रालयले सबै नर्सलाई आफ्नो काममा फर्किन र सहमति कार्यान्वयनमा सक्रिय सहयोग गर्न आग्रह गरेको छ।

