काठमाडौं। नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार देशका अधिकांश भू–भागमा मौसम सामान्यतया सफा रहने छ भने पहाडी क्षेत्रमा आंशिक बदली रहने छ।
विशेषगरी कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने सम्भावना छ।
यसअघि बंगालको खाडीमा विकसित ‘मोन्था चक्रवात’ का कारण देशका विभिन्न भागमा वर्षा भई जनजीवन प्रभावित भएको थियो।
हिमाली क्षेत्रमा भएको वर्षासँगै मनाङमा समेत हिमपात भएको थियो।
हिमपातका कारण डिस्याङ गाउँपालिका–९ स्थित तिलिचो तालको आधार शिविरमा आन्तरिक तथा विदेशी गरी १३ जना पर्यटक फसेका थिए।
उनीहरूलाई सशस्त्र प्रहरी बलको पर्वतीय उद्धार तालिम केन्द्र मनाङका टोलीले सफलतापूर्वक उद्धार गरेको थियो।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक १५ गते बिहानदेखि १६ गते बिहानसम्म देशभरका ३०१ वर्षा मापन केन्द्रमा वर्षा रेकर्ड गरिएको थियो।
त्यसमध्ये १८५ वटा केन्द्रले उल्लेख्य मात्राको वर्षा मापन गरेका थिए।
सबैभन्दा बढी वर्षा लमजुङको बेंसीशहरमा ७१ दशमलव १ मिलिमिटर मापन भएको विभागले जनाएको छ।
चार केन्द्रमा ५० मिलिमिटरभन्दा बढी वर्षा रेकर्ड गरिएको थियो।

