काठमाण्डौ । लगातार भारी वर्षा र बाढीका कारण मध्य भियतनाममा कम्तीमा ३५ जनाको मृत्यु भएको छ भने पाँच जना अझै बेपत्ता रहेका छन्।
भियतनाम विपद् तथा डाइक व्यवस्थापन प्राधिकरण (भिडिडिएमए) का अनुसार पछिल्ला २४ घण्टाभित्र १.७ मिटर (५ फिट ६ इन्च) सम्म वर्षा रेकर्ड भएपछि तटीय प्रान्तहरू तहसनहस भएका छन्।
मृतकमध्ये ह्यु, दा नाङ, लाम डोङ र क्वाङ त्रि प्रान्तका बासिन्दा रहेको बताइएको छ।
युनेस्को विश्व सम्पदामा सूचीकृत ऐतिहासिक सहर होइ एन पनि अहिले कम्मरसम्म पानीमा डुबानमा परेको छ।
स्थानीय नदी ६० वर्षयताको उच्चतम स्तरमा पुगेपछि बासिन्दा डुङ्गा प्रयोग गरी सहरभित्र आवागमन गर्न बाध्य भएका छन्।
होइ एनका बासिन्दा चुओङ गुयेनले भने, “हामीले बाढीका लागि तयारी त गरेका थियौँ, तर पानी यति बढ्ने अपेक्षा थिएन। धेरै घर र सामान नष्ट भए।”
भिडिडिएमएका अनुसार बाढीले १६ हजार ५०० भन्दा बढी घर डुबानमा पार्दै ४० हजारभन्दा बढी कुखुरा र गाईवस्तु बगाएको छ।
त्यस्तै, ५ हजार ३०० हेक्टरभन्दा बढी बाली जमिन नष्ट भएको छ।
वातावरण मन्त्रालयका अनुसार कुल एक लाखभन्दा बढी घर बाढीले प्रभावित भएका छन् र १५० भन्दा बढी स्थानमा भूस्खलन भएको छ।
वैज्ञानिकहरूका अनुसार मानव–सिर्जित जलवायु परिवर्तनका कारण बाढी, आँधीबेहरी र भूस्खलनजस्ता चरम मौसमी घटनाहरू अझ घातक बन्दै गएका छन्।
भियतनाम पृथ्वीका सबैभन्दा सक्रिय उष्णकटिबन्धीय चक्रवात क्षेत्रहरूमध्ये एक हो, जहाँ सामान्यतया जुनदेखि सेप्टेम्बरसम्म भारी वर्षा हुने गर्दछ।
तर सन् २०२५ मा मात्रै देशले १२ वटा उष्णकटिबन्धीय आँधीबेहरीको सामना गरिसकेको छ।
सरकारी तथ्याङ्कअनुसार प्राकृतिक प्रकोप — मुख्यतया आँधीबेहरी, बाढी र भूस्खलनका कारण पहिलो नौ महिनामा मात्रै १८७ जनाको मृत्यु वा बेपत्ता भएका छन्।
सरकारका अनुसार बाढी र प्रकोपजन्य क्षतिबाट आर्थिक हानि ६१ करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ।
राहत र उद्धारका कार्यमा स्थानीय निकायहरू सक्रिय रहे पनि लगातार वर्षाले कठिनाइ थपेको छ।

