काठमाडौं । भारतले पहिलोपटक महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जितेको छ।
दीप्ती शर्मा र शफाली वर्माको चम्किलो अलराउन्ड प्रदर्शनमा भारतले आइतबार नवी मुम्बईस्थित डीवाई पाटिल रंगशालामा सम्पन्न फाइनलमा दक्षिण अफ्रिकालाई ५२ रनले पराजित गर्दै उपाधि जितेको हो ।
यो जितसँगै भारतले अन्तर्राष्ट्रिय क्रिकेटका दुबै फर्म्याट — एकदिवसीय र ट्वान्टी–२० — मा पहिलोपटक विश्वकप उपाधि हात पारेको हो।
यसअघि भारत सन् २०१७ को एकदिवसीय र २०२० को ट्वान्टी–२० विश्वकप फाइनलमा पराजित भएको थियो, जबकि २०१८ र २०२३ को ट्वान्टी–२० संस्करणमा सेमिफाइनलमै रोकिएको थियो।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २९८ रनको बलियो योगफल बनायो।
भारतका लागि शफाली वर्मा र दीप्ती शर्माले अर्धशतकीय पारी खेले।
शफालीले ओपनर स्मृति मन्धनासँग मिलेर पहिलो विकेटका लागि १०४ रनको साझेदारी गर्दै पारीको सानदार सुरुआत दिलाइन्।
विकेटकिपर ऋचा घोशले पनि ३४ रनको योगदान गरिन्।
जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिका २४६ रनमै समेटियो।
कप्तान तथा ओपनर लौरा वोल्वार्ड्टले उत्कृष्ट १०१ रनको पारी खेलिन् तर टोलीलाई पहिलो विश्वकप उपाधिसम्म पुर्याउन सकिनन्।
भारतकी दीप्तीले घातक बलिङ गर्दै ५ विकेट लिँदै दक्षिण अफ्रिकाको मध्यक्रम ध्वस्त पारिन्।
४२औँ ओभरको पहिलो बलमा वोल्वार्ड्टलाई आउट गर्दै उनले भारतको ऐतिहासिक जित सुनिश्चित गरिन्।

