काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन सोमबार कतारको राजधानी दोहा प्रस्थान गर्ने भएका छन् ।
कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणामा राष्ट्रपति पौडेलले १२ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सम्मेलनमा सहभागी हुने परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिएका छन् । उनका अनुसार राष्ट्रपति पौडेलले कात्तिक १८ गते सम्मेलनको मुख्य सत्रलाई सम्बोधन गर्नेछन् ।
संयुक्त राष्ट्रसंघ महासभाको निर्णयअनुसार हुन लागेको सम्मेलन सदस्य राष्ट्रहरूका लागि अत्यन्तै महत्त्वपूर्ण हुने जनाइएको छ । भ्रमणबारे जानकारी दिन आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव राईले ३० वर्षपछि हुन लागेको सम्मेलनमा नेपालबाट राष्ट्रपतिको सहभागिता ‘गरिमामय उपस्थिति’ हुने बताए ।
सम्मेलनका क्रममा राष्ट्रपति पौडेलले कतारका अमिर शेख तमिम बिन हमद अल थानी, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत विभिन्न विशिष्ट व्यक्तिहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
यसअघि सन् १९९५ मा पहिलो सम्मेलन डेनमार्कको कोपनहेगनमा आयोजना भएको थियो । यसपटक कतारले दोस्रो संस्करणको आयोजना गर्दैछ । सम्मेलनमा विश्वले सामना गरिरहेका विकास असमानता, जनसङ्ख्यागत असन्तुलन, प्रविधिको प्रभाव लगायत विषयमा गहन छलफल हुने जनाइएको छ । साथै, सामाजिक विकासका लागि सहकार्य र साझेदारीमा साझा प्रतिबद्धता व्यक्त गर्ने अपेक्षा गरिएको छ ।
सन् १९५५ देखि संयुक्त राष्ट्रसंघको सदस्य रहेको नेपाल शान्ति, स्थायित्व र विकासका पक्षमा सधैं सक्रिय रहँदै आएको उल्लेख गर्दै मन्त्रालयले हाल नेपाल राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद् (ECOSOC) को अध्यक्ष रहेको कारण यो सहभागिता अझ अर्थपूर्ण हुने बताएको छ ।
कतार भ्रमण सम्पन्न गरी राष्ट्रपति पौडेल यही कात्तिक २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

