काठमाडौँ । नेपाली सेनाको हेलिकप्टरमार्फत चार जना गर्भवती महिलाको सफलतापूर्वक उद्धार गरिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले राष्ट्रिय महिला सशक्तिकरण परियोजनाअन्तर्गत सञ्चालन गरेको ‘गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रम’ अन्तर्गत सोमबार पूर्वका दुर्गम क्षेत्रबाट उद्धार गरिएको हो।
उद्धार गरिएकामध्ये इलामको माईजोगमाई–५ सिरसिरे र सन्दकपुर–१ छाँगे, पाँचथरको फिदिम–१२ पुल भञ्ज्याङ र सङ्खुवासभाको भोटखोला–३ हुङगुङकी गर्भवती महिलाहरू रहेका छन्।
उनीहरूलाई उद्धारपछि झापाको बी एन्ड सी मेडिकल कलेज अस्पताल र कोशी प्रादेशिक अस्पताल, विराटनगर पुर्याइएको मन्त्रालयले जनाएको छ।
यस कार्यक्रममार्फत सरकारले विशेष गरी दुर्गम र स्वास्थ्य सेवा पहुँच नपुगेका गर्भवती तथा सुत्केरी महिलाको जीवनरक्षा गर्ने लक्ष्य लिएको छ।