भक्तपुर । भक्तपुर दरबार क्षेत्रस्थित ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्र तलेजु भवानी मन्दिर आज बिहानैदेखि दर्शनका लागि सर्वसाधारणका लागि खुलाइएको छ। हरेक वर्ष महानवमीको दिन मात्रै मन्दिर सर्वसाधारणका लागि खुल्ने प्रचलन छ।
जनविश्वासअनुसार महानवमीकै दिन तलेजु भवानी प्रकट हुने भएकाले भक्तजनहरूको भीड दिनभर रहने गर्छ। धार्मिक किंवदन्तीअनुसार सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु भवानीसँग त्रिपाशा खेल्दा अनुचित दृष्टि लगाएको आरोप लागेपछि देवी अदृश्य भएकी थिइन्। राजाले क्षमा मागेपछि तलेजुले वर्षको एक पटक मात्र प्रकट हुने वचन दिएकी विश्वास गरिन्छ।
त्यसयता भक्तपुरमा कुमारीलाई एकान्त कुमारीको रूपमा पूज्ने परम्परा सुरु भएको हो, जुन पछि काठमाडौँ र ललितपुरसम्म विस्तार भएको बताइन्छ। विजयादशमीका दिन जीवित देवी कुमारीको हातबाट टीका थाप्ने परम्परा यसै धार्मिक विश्वाससँग जोडिएको छ।
यसैबीच, महानवमी अघिल्लो दिन अर्थात् महाअष्टमीको रातमा ३२ लक्षणयुक्त ‘निकुथु’ (निक्खर) राँगो दौडाउने जात्रा सम्पन्न भएको छ। महिषासुरको प्रतीक मानिने यो राँगो व्यासी टोलबाट दौडाउँदै दरबार स्क्वायरसम्म ल्याइएर तलेजुमा कालरात्रि पूजा गरिएको थियो।
जात्राका क्रममा स्थानीयहरूले बाटोभरि सुकुन्दा बालेर पूजा गर्ने प्रचलन रहिआएको छ। पूजारीको आदेशपछि राँगो मूलचोकमा पुर्याई कालरात्रि सम्पन्न गरिएको हो।
यस अवसरमा तलेजु भवानीमा ५४ बोका, ३२ राँगा र ३२ हाँस बलि चढाइएको छ। गुठी संस्थानको व्यवस्थापनमा वर्षौदेखि चल्दै आएको यो परम्परा यसपटक पनि निरन्तरता दिइएको छ।