भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले प्रत्येक शैक्षिक संस्थाले विद्यार्थीहरूमा देशभक्तिको भावना विकास गर्नुपर्ने बताएका छन्।
भक्तपुरको वागीश्वरी कलेज, वागीश्वरी मावि र वागीश्वरी कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित कार्यक्रममा उनले शिक्षा केवल पाठ्यक्रम र पाठ्यपुस्तकमा सीमित हुन नहुने उल्लेख गर्दै देशप्रेम र राष्ट्रिय चेतनाको विकास अपरिहार्य रहेको बताए।
अध्यक्ष विजुक्छेँले शिक्षा क्षेत्र कमजोर बनाएर साम्राज्यवादी र पुँजीवादी शक्तिहरूले आफ्नो स्वार्थ पूरा गर्ने प्रयास गरिरहेको आरोप लगाए। आर्थिक रूपमा स्वतन्त्र नभएसम्म देश स्वतन्त्र नहुने भन्दै उनले विद्यार्थीहरूलाई देशप्रेमको शिक्षा दिनुपर्नेमा जोड दिए।
अनिवार्य र निःशुल्क शिक्षा नीति लागू नभएसम्म शिक्षा महँगो रहने उल्लेख गर्दै उनले विद्यार्थीलाई कामदारका रूपमा विदेश जान बाध्य पार्ने शिक्षा प्रणालीमा परिवर्तन आवश्यक रहेको बताए।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई ज्ञान र विज्ञानको केन्द्रका रूपमा विकास गर्ने प्रयास भइरहेको बताए।

