टोकियो/काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिलगायत नेपालको प्राथमिकताका क्षेत्रमा लगानी विस्तार गर्न जापानी लगानीकर्तालाई आग्रह गरेका छन्।
नेपाल–जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका अवसरमा जापानको राजधानी टोकियोमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजनीतिक संक्रमणको चरण टुंगिएसँगै नेपालको ध्यान अब द्रुत सामाजिक–आर्थिक विकास र समृद्धिमा केन्द्रित भएको बताए।
राष्ट्रपति पौडेलका अनुसार नेपाल सरकारले व्यापार सहजता, विदेशी लगानी प्रवद्र्धन र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यले कानुनी, प्रक्रियागत र संस्थागत सुधार अघि बढाइसकेको छ। “हामी उत्पादन, जलविद्युत्, पर्यटन, सेवा, सूचना प्रविधि, खानी र कृषिजस्ता क्षेत्रमा जापानी लगानीकर्तालाई आमन्त्रण गर्न चाहन्छौँ,” उनले भने।
कार्यक्रमले नेपाल–जापान सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्दै राष्ट्रपति पौडेलले राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा मात्र नभई जनता–जनताबीचको सम्बन्धसमेत निरन्तर सुदृढ हुँदै गएको उल्लेख गरे। उच्चस्तरीय भ्रमण र बढ्दो सहयोगले द्विपक्षीय सम्बन्ध थप प्रगाढ बनेको उनको भनाइ थियो।
नेपाल र जापानबीच भगवान् बुद्धको शिक्षामा आधारित सांस्कृतिक, धार्मिक र मूल्यगत समानता रहेको उल्लेख गर्दै उनले बुद्ध जन्मस्थल लुम्बिनीले दुई देशका जनताबीच सम्बन्ध मजबुत बनाउने पुलको काम गरेको बताए। विश्व शान्तिको मुहानका रूपमा लुम्बिनी विकासमा जापानले पुर्याउँदै आएको सहयोगप्रति राष्ट्रपति पौडेलले आभार व्यक्त गरे।
उनले विकास सहायता, व्यापार, लगानी र पर्यटनलगायत क्षेत्रमा जापान नेपालका प्रमुख साझेदारमध्ये एक रहँदै आएको बताए। यसै वर्षको अन्त्यसम्ममा नेपाल अति कम विकसित देशको सूचीबाट स्तरोन्नति हुने र सन् २०३० सम्म मध्यम आय भएको राष्ट्र बन्ने लक्ष्य महत्वपूर्ण उपलब्धि हुने पनि उनले उल्लेख गरे।
पर्यटनका सन्दर्भमा राष्ट्रपति पौडेलले नेपाल जापानी पर्यटकको रोजाइको गन्तव्य बनेकोमा सन्तोष व्यक्त गरे। साहसिक पर्यटन, प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले जापानी पर्यटक आकर्षित गरिरहेको भन्दै पर्यटन सहकार्य अझ विस्तार गर्न चाहेको बताए।
त्यसैगरी, जापान नेपाली युवा तथा विद्यार्थीको प्रमुख गन्तव्य बनेको र त्यहाँ रहेका नेपाली नागरिकको सुरक्षा सुनिश्चित गरिएकामा उनले जापान सरकारप्रति धन्यवाद व्यक्त गरे।
कार्यक्रममा जापानका विदेश राज्यमन्त्री होरी इवाओले यस प्रकारका उच्चस्तरीय भ्रमणले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने धारणा राखे।

