कीर्तिपुर (काठमाडौँ) । त्रिभुवन विश्वविद्यालयले स्थापनाकालदेखि बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालयमै केन्द्रित रहँदै आएको परीक्षा प्रणालीलाई प्रदेशस्तरमा विकेन्द्रित गर्ने निर्णय गरेको छ। वर्षौंदेखि विद्यार्थीले उठाउँदै आएको ‘प्रदेशमै परीक्षा’को माग पछिल्लो साता स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को दबाबपछि कार्यान्वयनमा गएको हो।

स्ववियुले परीक्षा नियन्त्रण कार्यालय परिसरमा धर्ना दिएपछि विश्वविद्यालय प्रशासनसँग सहमति भएको थियो। सोही सहमतिअनुसार यसपटक काठमाडौँमा माघ १८ गतेदेखि सञ्चालन हुने भनिएको तीन वर्षे स्नातक तहको मौका परीक्षालाई माघ २५ गतेदेखि सम्बन्धित प्रदेशमै दिने व्यवस्था मिलाइएको छ।
परीक्षा नियन्त्रण कार्यालयले सूचना जारी गर्दै परीक्षार्थीलाई काठमाडौँ आउँदा पर्ने असुविधा र आर्थिक भारलाई ध्यानमा राखी क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयअन्तर्गत न्यूनतम एक परीक्षा केन्द्र तोकी परीक्षा सञ्चालन गरिने जनाएको छ।
यस व्यवस्थाअनुसार मानविकी तथा सामाजिक शास्त्र, शिक्षा शास्त्र, व्यवस्थापन सङ्काय तथा विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका परीक्षार्थीले आंशिक तथा मौका परीक्षा आफ्नै प्रदेशबाट दिन पाउने छन्।
परीक्षा नियन्त्रक लक्ष्मण पौडेलले परीक्षा प्रणालीलाई क्रमशः विकेन्द्रित र सूचना प्रविधिमैत्री बनाउँदै लैजाने नीति अनुसार यो निर्णय गरिएको बताए। “तीन वर्षे स्नातक तहजस्तै अन्य परीक्षालाई पनि यथासम्भव प्रदेशस्तरबाटै सञ्चालन गर्ने तयारी छ,” उनले भने।
यता त्रिवि स्ववियु सभापति दीपकराज जोशीले विद्यार्थीहरूसँग भएको सहमतिअनुसार परीक्षा प्रणाली सुधारको काम ढिलो भइरहेको टिप्पणी गरे। उनले विकेन्द्रिकरणलाई निरन्तरता दिन विश्वविद्यालय प्रशासन गम्भीर हुनुपर्नेमा जोड दिए।

