काठमाडौँ । चलचित्र विकास बोर्डले हाल प्रदर्शनरत नेपाली चलचित्रहरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ। बोर्डअन्तर्गतको ‘सिनेपा २ बक्सअफिस’ले सिनेमा हलमा प्रदर्शनमा रहेका चलचित्रको शनिबारसम्मको कारोबार विवरण सोमबार सार्वजनिक गरेको हो।
बोर्डका अनुसार पुस ४ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ ले घरेलु बक्सअफिसमा अपेक्षित कमाइ गर्न सकेको छैन। हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ को निर्देशनमा बनेको चलचित्रले शनिबारसम्म १ करोड २८ लाख ५२ हजार ३ सय १९ रुपैयाँ आम्दानी गरेको छ। चलचित्रका लागि ४० हजार ६२४ टिकट बिक्री भएको विवरणमा उल्लेख छ।
भ्रष्टाचार र बेथितिविरुद्धको विषय उठान गरिएको चलचित्रमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाललगायत कलाकारको अभिनय रहेको छ।
माघे सङ्क्रान्तिलाई लक्षित गर्दै माघ १ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले पनि उल्लेख्य व्यापार गर्न नसकेको बोर्डले जनाएको छ। मरिचमान श्रेष्ठ (बल्छी धुर्वे) को निर्देशनमा बनेको ‘गोबर गणेश’ ले शनिबारसम्म १ करोड ३६ लाख २० हजार ८ सय ६६ रुपैयाँ कमाइ गरेको छ। चलचित्रका लागि ४८ हजार ५३ टिकट बिक्री भएका छन्। चलचित्रमा वर्षा शिवाकोटी, विनोद न्यौपाने, बुद्धि तामाङलगायत कलाकारको अभिनय छ।
यम शेर्पाको निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’ ले सोही अवधिमा ३३ लाख ९३ हजार ७ सय २५ रुपैयाँ आम्दानी गरेको छ। बुबाछोरीको सम्बन्ध र त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, छुल्ठिम गुरुङलगायत कलाकारको अभिनय रहेको छ। चलचित्रका लागि १० हजार ८८४ टिकट बिक्री भएका छन्।
त्यसैगरी, सौगात मल्ल अभिनित चलचित्र ‘भाइरल गोर्खे’ ले ३६ लाख १० हजार ९ सय २५ रुपैयाँ कारोबार गरेको छ। सामाजिक सञ्जालको प्रभावलाई कथावस्तु बनाइएको यो चलचित्र माघ १ गतेदेखि प्रदर्शनमा आएको हो। चलचित्रका लागि ११ हजार २९८ टिकट बिक्री भएको बोर्डले जनाएको छ।
माघ ९ गतेदेखि प्रदर्शनमा आएको चलचित्र ‘परिवर्तन’ ले हालसम्म ३१ लाख ९ हजार ९ सय २५ रुपैयाँ आम्दानी गरेको छ। सामाजिक परिवर्तनको विषय उठान गरिएको चलचित्रमा सुशील श्रेष्ठ, अञ्जना बराइली, सरोज खनाल, करिश्मा मानन्धरलगायत कलाकारको अभिनय रहेको छ। विजय केरुङको निर्देशनमा बनेको चलचित्रका लागि ११ हजार ६ टिकट बिक्री भएका छन्।
चलचित्र विकास बोर्डले पछिल्ला केही महिनादेखि नेपालमा प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रको व्यावसायिक विवरण प्रत्येक सोमबार सार्वजनिक गर्दै आएको छ।

