काठमाण्डौ । रुसले युक्रेन र संयुक्त राज्य अमेरिकासँग चार वर्षदेखि जारी युद्ध अन्त्यका लागि संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा नयाँ चरणको वार्ता भोलिदेखि सुरु हुने पुष्टि गरेको छ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार र बिहीबार वार्ता हुने जानकारी दिएका हुन् ।
त्यसको एक दिनपछि मस्कोले वार्ता ढिलाइ हुनुको कारण तीनै पक्षको कार्यतालिकाबीच समन्वय नहुनु रहेको स्पष्ट पारेको हो।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूसँग भने, “वार्ता सुरुमा गत आइतबारका लागि तय गरिएको थियो। तर तीन पक्षको तालिकामा थप समन्वय आवश्यक पर्यो।” उनले बुधबार–बिहीबार अबु धाबीमै दोस्रो चरणको वार्ता हुने पुष्टि गरे।
यो वार्ता रुसले युक्रेनमाथि पूर्णस्तरको सैन्य आक्रमण सुरु गरेको चौथो वर्षगाँठ नजिकिँदै गर्दा हुन लागेको हो। वार्तामा रुसले कब्जा गरेको पूर्वी डोनबास क्षेत्रको विषय प्रमुख एजेन्डा बन्ने अपेक्षा गरिएको छ। यद्यपि अहिलेसम्म कुनै पनि पक्षबाट ठोस प्रगतिको संकेत देखिएको छैन।
यसैबीच, संयुक्त राज्य अमेरिकाले दुवै छिमेकी मुलुकबीच दसौं हजारको ज्यान जाने गरी जारी युद्ध अन्त्यका लागि कूटनीतिक पहल तीव्र पारेको छ। युद्धका कारण लाखौँ युक्रेनी नागरिक विस्थापित भएका छन् भने देशको पूर्वी र दक्षिणी भूभागको ठूलो हिस्सा ध्वस्त बनेको छ।

