काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गरेकी छन्।
राष्ट्रिय सभाको १९औँ अधिवेशनअन्तर्गत माघ ४ गतेदेखि सुरु भएको पाँचौँ बैठकलाई सोमबार पहिलोपटक सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले निर्वाचनको तयारी, सुशासन र आर्थिक व्यवस्थापनका क्षेत्रमा सरकारले गरिरहेका कामबारे सभासद्हरूलाई जानकारी गराइन्।
आफू कुनै दीर्घ शासकीय आकाङ्क्षा बोकेर नभई विषम परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारीमा आएको स्पष्ट पार्दै उनले तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचनपछि गठन हुने नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताइन्।
प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारको सन्दर्भ उल्लेख गर्दै हालै सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित सदस्यहरूलाई बधाईसमेत दिइन्।
यसैक्रममा उनले ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तले प्रस्तुत गरेको ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथि छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ पनि दिएकी छन्।

