निलकण्ठ उप्रेती
मुलुक निर्वाचनको संघारमा उभिएको छ। आवधिक निर्वाचन लोकतन्त्रको आधारस्तम्भ हो, जसले राजनीतिक स्थायित्व र जनविश्वासलाई मजबुत बनाउँछ। आदर्श रूपमा पाँच वर्षको अवधि पूरा भएपछि नियमित निर्वाचन हुनुपर्छ, तर परिस्थितिवश बीचमै निर्वाचन गर्नुपर्ने अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण हो। यसले राजनीतिक अस्थिरता र सरकारको कमजोर कार्यसम्पादनतर्फ संकेत गर्छ। अब जब निर्वाचनको मिति नजिकिएको छ, यसलाई शान्तिपूर्ण र मर्यादित रूपमा सम्पन्न गर्नु सबैको साझा दायित्व बनेको छ।
निर्वाचनमा सबै उम्मेदवार जित्न सक्दैनन्, तर लोकतन्त्र र देशले जित्नैपर्छ। परिणामस्वरूप गठन हुने सरकारले पाँच वर्ष स्थिर रूपमा काम गर्न सक्नुपर्छ।
निर्वाचन लोकतन्त्रको विकल्प होइन, लोकतन्त्रको प्राण हो। मतदाताको उत्साहपूर्ण सहभागिताबिनाको निर्वाचनको कुनै अर्थ रहँदैन। विगतमा नेपाली मतदाताले उच्च सहभागितामार्फत लोकतान्त्रिक अभ्यासलाई बलियो बनाएका छन्। यसपटक पनि सचेत, जिम्मेवार र विवेकपूर्ण मतदान आवश्यक छ। मत हाल्दा स्वच्छता र सावधानी अपनाउनुपर्छ, किनकि एक मतले भविष्यको सरकार निर्माणमा निर्णायक भूमिका खेल्छ।
निर्वाचनमा सबै उम्मेदवार जित्न सक्दैनन्, तर लोकतन्त्र र देशले जित्नैपर्छ। परिणामस्वरूप गठन हुने सरकारले पाँच वर्ष स्थिर रूपमा काम गर्न सक्नुपर्छ। छोटो अवधि र निरन्तर सरकार परिवर्तनले विकास, सुशासन र समृद्धिको यात्रालाई अवरुद्ध गर्छ। राजनीतिक स्थायित्वबिना दीगो विकास सम्भव हुँदैन।
त्यसैले मतदाताले स्थायी सरकार दिन सक्ने पात्र र दल पहिचान गर्नुपर्छ।
निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित हुनुपर्छ। खर्चिलो र तडकभडक प्रचारले लोकतान्त्रिक मूल्य कमजोर बनाउँछ। ज्ञान, सिद्धान्त, अनुभव र प्रतिबद्धताको आधारमा प्रतिस्पर्धा भए मात्र निर्वाचनको गरिमा जोगिन्छ। जसरी पनि जित्ने प्रवृत्ति त्याग्नुपर्छ। मतदाताले पनि अत्यधिक खर्च गर्ने र आकर्षक नारामात्र बेच्ने उम्मेदवारभन्दा निष्ठावान र समाजसेवामा समर्पित व्यक्तिलाई प्राथमिकता दिनुपर्छ।
निर्वाचन प्रचारप्रसार शान्त, मर्यादित र आचारसंहिताअनुरूप हुनुपर्छ। आरोप–प्रत्यारोप, द्वेष र घृणा फैलाउने गतिविधि लोकतान्त्रिक संस्कृतिका लागि हानिकारक हुन्छन्। सामाजिक सञ्जालजस्ता प्रविधिको प्रयोग जिम्मेवारीपूर्वक गरिनुपर्छ। आफ्ना नीति, योजना र दृष्टिकोण प्रस्तुत गर्नु नै स्वस्थ प्रतिस्पर्धा हो।
सरकार र निर्वाचन आयोगले आवश्यक स्रोतसाधन, सुरक्षा र निष्पक्ष वातावरण सुनिश्चित गर्नुपर्छ। मतदानदेखि मतगणनासम्म सम्पूर्ण प्रक्रिया सुरक्षित र व्यवस्थित हुनुपर्छ। राजनीतिक दल र उम्मेदवारले पनि संयमता र सहकार्य देखाउनुपर्छ।
मौन अवधि निर्वाचनको पवित्रता जोगाउने संवेदनशील चरण हो। यस अवधिमा मतदाताले स्वतन्त्र रूपमा सोचविचार गरी निर्णय गर्न पाउने वातावरण सिर्जना गरिन्छ। त्यसैले आचारसंहिता उल्लङ्घन नगरी शान्तिपूर्वक बस्नु सबै पक्षको कर्तव्य हो।
अन्ततः लोकतन्त्रको रक्षा र सुदृढीकरण मतदाताकै हातमा छ। मतदान केवल अधिकार होइन, राष्ट्रको भविष्य निर्माण गर्ने अमूल्य दायित्व हो। विवेकपूर्ण निर्णय, स्वच्छ भावना र सक्रिय सहभागिताले मात्र स्थायी सरकार, सुशासन र समृद्ध नेपालको आधार तयार गर्न सक्छ।
(उप्रेतीसित राससका संवाददाता नारायण न्यौपानेले गरेको कुराकानीबाट सम्पादित)

