काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी) ले त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंगिक क्याम्पसहरूमा तीनवर्षे एलएलबी कार्यक्रमको नाममा गरिएको शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गर्दै त्यसलाई विद्यार्थीविरोधी निर्णयको संज्ञा दिएको छ।
संगठनका अध्यक्ष विजय प्रकाश शर्मा सापकोटाले मंगलबार जारी गरेको विज्ञप्तिमा तीनवर्षे एलएलबी कार्यक्रमका लागि गरिएको चर्को शुल्कवृद्धिप्रति गम्भीर आपत्ति जनाउँदै सार्वजनिक शिक्षालाई योजनाबद्ध रूपमा व्यापारीकरण गर्ने, विद्यार्थीमाथि आर्थिक भार थप्ने र आम विद्यार्थीलाई शिक्षाको पहुँचबाट वञ्चित गर्ने प्रयास भएको आरोप लगाएका छन्।
विज्ञप्तिमा यस्तो निर्णयप्रति संगठनले घोर भर्त्सना गर्दै त्रिभुवन विश्वविद्यालय प्रशासन र सरकारलाई शुल्क वृद्धि तत्काल फिर्ता लिन, शिक्षा क्षेत्रको व्यापारीकरण अन्त्य गर्न तथा विद्यार्थीमैत्री नीति अवलम्बन गर्न आग्रह गरिएको छ।
अनेरास्ववियू (क्रान्तिकारी) ले विद्यार्थीका जायज मागलाई बेवास्ता गरिए देशव्यापी चरणबद्ध सशक्त आन्दोलनका कार्यक्रम अघि बढाइने चेतावनीसमेत दिएको छ। त्यस्तो आन्दोलनबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी सरकार र सम्बन्धित निकायले नै वहन गर्नुपर्ने संगठनको भनाइ छ।

