काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई अनुसन्धानका लागि सात दिनभित्र कार्यालयमा उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको छ।
मंगलबार प्रकाशित सूचनामा जयवीर देउवाको तीन पुस्ते विवरण खुलाउँदै सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी अनुसन्धानका क्रममा केही विषयमा सोधपुछ गर्नुपर्ने भएकाले बाटोको म्याद बाहेक सात दिनभित्र ललितपुरको पुल्चोकस्थित कर्मचारी सञ्चयकोषको केन्द्रीय कार्यालयको ‘बी’ ब्लकमा रहेको विभागको कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम जारी गरिएको सूचनामा तोकिएको म्यादभित्र उपस्थित नभए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
हाल पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, उनकी पत्नी आरजु राणा देउवा तथा छोरा जयवीर देउवा विदेशमा रहेका छन्। फागुन २१ गतेको निर्वाचनअघि उपचारका लागि विदेश गएको देउवा परिवार अहिलेसम्म स्वदेश फर्किएको छैन।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा परिवारमाथि सम्पत्ति शुद्धीकरण कसुरसम्बन्धी अनुसन्धान अघि बढाइरहेको छ।

