काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले ललितपुरको इमाडोलमा सडकमा हिँडिरहेकी एक युवतीलाई गोप्य अंग प्रदर्शन गरिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै दोषीलाई कानुनबमोजिम कारबाही गरिने बताएका छन्।
प्रहरीले गोप्य अंग प्रदर्शन गरेको आरोपमा बैतडीको पाटन नगरपालिका स्थायी घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका–२ बस्दै आएका ५५ वर्षीय सुरेन्द्र भट्टलाई सोमबार पक्राउ गरेको छ। प्रहरी वृत्त सातदोबाटोका अनुसार भट्ट रक्षा मन्त्रालयमा शिक्षा अधिकृतका रूपमा कार्यरत छन्।
सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै गृहमन्त्री गुरुङले यस्ता घटनाको घोर भर्त्सना गर्दै दोषी जोसुकै भए पनि कानुनको कठघरामा ल्याई कानुनबमोजिम कारबाही गरिने स्पष्ट पारेका छन्। उनले प्रत्येक महिलाले सुरक्षित महसुस गर्ने वातावरण सुनिश्चित गर्नु राज्य र समाज दुवैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै यौन हिंसाका पीडितलाई निडर भएर आवाज उठाउन आग्रह गरेका छन्।
गृहमन्त्री गुरुङले आफूलाई दुर्व्यवहार गर्ने व्यक्तिको भिडियो सार्वजनिक गरेर घटना उजागर गरेकी ऋतु खनालको साहसको पनि प्रशंसा गरेका छन्। उनका अनुसार कुनै पनि महिला वा छोरीचेलीमाथि हुने यौन दुर्व्यवहार वा उत्पीडन सभ्य समाजका लागि कदापि स्वीकार्य छैन। साथै, पीडितले न्यायका लागि आफ्नो पीडा पुष्टि गर्न भिडियो सार्वजनिक गर्नुपर्ने अवस्था सिर्जना हुनु आफैँमा चिन्ताजनक भएको उनको भनाइ छ।
उनले यस्ता घटना भएमा नजिकको प्रहरी कार्यालयमा उजुरी दिन आग्रह गर्दै कुनै कारणवश उजुरी दर्ता गर्न असहजता वा अवरोध सिर्जना भए सम्बन्धित जिल्ला प्रहरी परिसर वा गृह मन्त्रालयमा समेत जानकारी गराउन अनुरोध गरेका छन्। उजुरी लिन अस्वीकार गर्ने वा पीडितको गुनासोलाई बेवास्ता गर्ने प्रवृत्ति स्वीकार्य नहुने चेतावनी पनि उनले दिएका छन्।
प्रहरीका अनुसार इमाडोलस्थित सार्वजनिक सडकमा हिँडिरहेकी ऋतु खनाललाई सुरेन्द्र भट्टले गोप्य अंग प्रदर्शन गरेका थिए। खनालले घटनाको भिडियो आइतबार टिकटक, इन्स्टाग्राम र फेसबुकमा सार्वजनिक गरेपछि उक्त घटना सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चामा आएको थियो। भिडियोमा उनले कराउँदै आरोपितलाई पछ्याएको, नियन्त्रणमा लिएर माफी माग्न लगाएको दृश्य पनि छ।

