काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भूभागमा सरदरभन्दा दक्षिणतर्फ र पश्चिमी भूभागमा सरदर स्थानकै आसपास रहेको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस प्रदेश र सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिक बदली छ।
आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै लुम्बिनी र सुदूरपश्चिमका तराईका केही स्थान तथा मधेस, कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि चट्याङसहित मध्यम वर्षा हुन सक्ने अनुमान छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। मधेस प्रदेश तथा लुम्बिनी प्रदेशको तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
आज राति पनि देशभर अधिकांश स्थानमा बदली रहनेछ। हिमाली क्षेत्रका थोरै स्थानमा तथा मधेस, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका धेरै स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा सुदूरपश्चिमका तराई क्षेत्रका धेरै स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ।
रातिको समयमा कोशी प्रदेशका पहाडी तथा तराईका थोरै स्थान र मधेस प्रदेश तथा गण्डकी प्रदेशका पहाडी र तराई भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो र डुबानको जोखिमप्रति सचेत रहन मौसमविद्ले आग्रह गरेका छन्।

