जितेन्द्र दाहाल
द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तका अनुसार सत्ता (भौतिक जगत) र चिन्तन (चेतना) बीच द्वन्द्वात्मक एकता विद्यमान हुन्छ। यसको अर्थ संसार अज्ञेय होइन, ज्ञेय छ। मानिसको चेतनाले भौतिक संसारलाई प्रतिबिम्बित गर्न सक्छ, त्यसका नियम र सारतत्त्वलाई बुझ्न सक्छ तथा त्यसलाई परिवर्तन गर्न पनि सक्षम हुन्छ। यही कारणले माक्र्सवादी ज्ञान सिद्धान्त अज्ञेयवादको विरोधमा उभिएको छ।
माक्र्सवादी दृष्टिकोणमा प्रतिबिम्बन भनेको गतिशील प्रकृति र समाजलाई यथासम्भव सजीव रूपमा बुझ्ने, त्यसका सारतत्त्व, नियम, प्रवर्ग र सिद्धान्तलाई क्रमशः आत्मसात् गर्दै जाने निरन्तर प्रक्रिया हो। यो प्रतिबिम्बन निष्क्रिय होइन, सक्रिय र परिवर्तनमुखी हुन्छ। त्यसैले माक्र्सवादले संसारलाई केवल व्याख्या गर्ने होइन, परिवर्तन गर्ने लक्ष्य राख्छ।
ज्ञानको दुई छलाङको सिद्धान्त
मानिसको ज्ञान इन्द्रियहरूबाट प्राप्त हुने संवेदनाबाट सुरु हुन्छ। रङ, रस, गन्ध, स्पर्श र शब्दका माध्यमबाट प्राप्त ज्ञानलाई इन्द्रियग्राह्य ज्ञान भनिन्छ। यो ज्ञान प्रारम्भिक र सीमित हुन्छ।
यसपछि ज्ञानले बुद्धिजन्य ज्ञान मा छलाङ हान्छ। संवेदना, प्रत्यक्ष अनुभव र संस्कारबाट प्राप्त सूचनालाई विश्लेषण र संश्लेषण गर्दै वस्तुको सार, आन्तरिक सम्बन्ध तथा नियम बुझ्ने प्रक्रिया सुरु हुन्छ। यसै क्रममा धारणा, निर्णय, निष्कर्ष, नियम र सिद्धान्तको विकास हुन्छ। तर ज्ञानको यात्रा यतिमै सीमित हुँदैन। बुद्धिजन्य ज्ञान पुनः व्यवहारमा लागू हुनुपर्छ।
माओ त्सेतुङका अनुसार—
“इन्द्रियग्राह्य ज्ञानबाट आरम्भ गरेर त्यसलाई गत्यात्मक रूपमा बुद्धिसङ्गत ज्ञानमा विकसित गर्नु, त्यसपछि बुद्धिसङ्गत ज्ञानलाई पुनः क्रान्तिकारी व्यवहारमा प्रयोग गर्नु, जसबाट आत्मगत र वस्तुगत संसारमा परिवर्तन ल्याउन सकियोस्। व्यवहार, ज्ञान, फेरि व्यवहार, फेरि ज्ञान—यो प्रक्रिया अनन्तसम्म चलिरहन्छ।”
यसैलाई द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तमा ज्ञानको दुई छलाङको सिद्धान्त भनिन्छ।
सत्यको वस्तुनिष्ठता, सापेक्षता र निरपेक्षता
द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तका अनुसार सत्यको आधार वस्तुगत यथार्थ हो। मानिसको चेतनाभन्दा बाहिर प्रकृति वा वस्तुजगत स्वतन्त्र रूपमा अस्तित्वमा हुन्छ र त्यसैको प्रतिबिम्ब मानिसको चेतनामा पर्छ। त्यसैले सत्य आत्मनिष्ठ होइन, वस्तुनिष्ठ हुन्छ।
यद्यपि वस्तुनिष्ठ सत्यको स्वरूप सापेक्ष र निरपेक्ष दुवै हुन्छ। वस्तुजगत निरन्तर परिवर्तनशील भएकाले मानिसको ज्ञान पनि क्रमशः विकसित हुँदै जान्छ। यस अर्थमा ज्ञान सधैँ आंशिक र सापेक्ष हुन्छ। तर सापेक्ष सत्यहरूको क्रमिक विकास र समष्टिबाट निरपेक्ष सत्यतर्फको यात्रा सम्भव हुन्छ।
उदाहरणका रूपमा, कुनै समय परमाणुलाई अभिभाज्य मानिन्थ्यो। पछि इलेक्ट्रोन, प्रोटोन र न्यूट्रोनको खोजसँगै त्यो धारणा परिवर्तन भयो। यसले सत्यको सापेक्ष चरित्र देखाउँछ। तर “पदार्थ गतिशील हुन्छ” वा “जन्मेपछि मृत्यु निश्चित छ” जस्ता सत्यहरू निरपेक्ष प्रकृतिका मानिन्छन्। यी दुईबीच द्वन्द्वात्मक एकता रहेको हुन्छ।
सत्यको प्रामाणिकता र कसौटी
कुनै ज्ञान वस्तुगत यथार्थसँग मेल खान्छ कि खाँदैन भन्ने प्रश्न नै सत्यको प्रामाणिकताको प्रश्न हो। ज्ञान वस्तुसँग अनुरूप भएमा त्यो सत्य मानिन्छ।
द्वन्द्वात्मक भौतिकवादका अनुसार सामाजिक व्यवहार नै सत्यको अन्तिम कसौटी हो। उत्पादन, वर्गसङ्घर्ष तथा वैज्ञानिक प्रयोगजस्ता व्यवहारिक प्रक्रियाबाट नै कुनै विचार, सिद्धान्त वा नियमको सत्यता परीक्षण हुन्छ। अन्ततः व्यवहारले नै सत्य र असत्यबीचको भिन्नता स्पष्ट पार्दछ।
ज्ञान सिद्धान्तका प्रमुख विधिहरू
१. निरीक्षण र प्रयोग
कुनै पनि वस्तु वा प्रक्रियालाई सही रूपमा बुझ्न त्यसको सूक्ष्म निरीक्षण आवश्यक हुन्छ। त्यसपछि प्रयोगद्वारा प्राप्त निष्कर्षको पुष्टि गरिन्छ। निरीक्षण र प्रयोग एकअर्काका पूरक हुन्।
२. निगमन र आगमन
ज्ञानको विकास सामान्यबाट विशेषतर्फ (निगमन) र विशेषबाट सामान्यतर्फ (आगमन) हुने द्वन्द्वात्मक प्रक्रियामा आधारित हुन्छ। यी दुवै विधि सिद्धान्त र व्यवहारको एकतालाई अभिव्यक्त गर्छन्।
३. मूर्त र अमूर्तको द्वन्द्वात्मक सम्बन्ध
ज्ञानको विकास मूर्त प्रत्यक्षबाट अमूर्त अवधारणातर्फ र पुनः समग्र मूर्त बोधतर्फ अगाडि बढ्छ। उदाहरणका लागि आँप, सुन्तला, केरा आदि देख्नु मूर्त अनुभव हो। ती सबैलाई “फल” भन्ने सामान्य अवधारणामा समेट्नु अमूर्तीकरण हो। त्यसपछि फलका विशेषता, उपयोगिता र सम्बन्धलाई समग्र रूपमा बुझ्नु विकसित मूर्त ज्ञान हो।
४. ऐतिहासिक र तार्किक विधि
ऐतिहासिक विधिले कुनै वस्तु वा समाजको विकासक्रमलाई तथ्यगत रूपमा प्रस्तुत गर्छ भने तार्किक विधिले त्यस विकासलाई नियमबद्ध र वैचारिक रूपमा विश्लेषण गर्छ। मानव समाजको आदिम साम्यवाददेखि साम्राज्यवादसम्मको विकासक्रम यसको उदाहरण हो।
५. विश्लेषण र संश्लेषण
विश्लेषण भनेको वस्तुलाई विभिन्न पक्षमा विभाजन गरेर अध्ययन गर्नु हो। संश्लेषण भनेको ती पक्षहरूलाई पुनः समग्र रूपमा जोडेर निष्कर्ष निकाल्नु हो। कुनै सामाजिक समस्या वा क्रान्तिको कारण पहिचान गर्नु विश्लेषण हो भने त्यसको समाधान प्रस्तुत गर्नु संश्लेषण हो।
निष्कर्ष
द्वन्द्वात्मक भौतिकवादी ज्ञान सिद्धान्तले ज्ञानलाई स्थिर होइन, निरन्तर विकासशील प्रक्रिया मान्दछ। यसले आत्मगत र वस्तुगत पक्ष, सिद्धान्त र व्यवहार तथा विचार र कार्यबीच द्वन्द्वात्मक एकता कायम गर्नुपर्नेमा जोड दिन्छ। यस सिद्धान्तको मूल उद्देश्य संसारलाई केवल बुझ्नु मात्र होइन, वैज्ञानिक ढङ्गले परिवर्तन गर्नु पनि हो।

